Skip to main content

बेल्जियम र इजिप्टबीचको भिडन्त: गोल्डेन जेनेरेसनको साख जोगाउने चुनौती

सन् २०२६ को फिफा विश्वकपअन्तर्गत समूह ‘जी’ को खेलमा बेल्जियम र इजिप्ट सियाटल स्टेडियममा भिड्ने भएका छन्। चोटमुक्त भएका कप्तान मोहम्मद सलाहको नेतृत्वमा इजिप्ट मैदानमा उत्रनेछ भने बेल्जियम आफ्नो साख जोगाउन प्रयास गर्नेछ। यी दुई टोलीबीच भएका चार खेलमध्ये इजिप्टले तीन र बेल्जियमले एउटा खेल जितेको छ। १ असार, काठमाडौं।

सन् २०२२ को विश्वकप समूह चरणबाटै बाहिरिएको बेल्जियमले इजिप्टविरुद्ध खेल्दै फिफा विश्वकप २०२६ को यात्रा सुरु गर्दैछ। वासिङ्टनस्थित सियाटल स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार राति पौने एक बजेबाट सुरु हुनेछ। समूह ‘जी’ अन्तर्गतको यो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ। चौथोपटक विश्वकप खेल्न लाग्दै गरेको इजिप्टले १४ पटक विश्वकप खेलेको बेल्जियमलाई रोक्न कसरत गर्नेछ।

इजिप्टले पूर्ण स्वस्थ खेलाडीहरूसँग र उच्च मनोबलका साथ आफ्नो विश्वकप यात्रा सुरु गर्दैछ। अप्रिलको अन्त्यतिर ह्यामस्ट्रिङको चोट लागेको मोहम्मद सलाह पूर्ण रूपमा निको भइसकेका छन्। सलाहले विङ्गरको भूमिकामा खेल्दै इजिप्टको कप्तानी गर्नेछन्। प्रशिक्षक होसाम हसनले बेल्जियमको दबाब सहनेगरी काउन्टर–अट्याकमा जोड दिने रणनीति बनाउन सक्ने सम्भावना छ।

सन् २०२२ को कतार विश्वकप समूह चरणबाटै लज्जास्पद रुपमा बाहिरिएको बेल्जियमले यसपटक आफ्नो खस्किंदो ‘गोल्डेन जेनेरेसन’ को साख जोगाउन प्रयास गर्नेछ। प्रिमियर लिगका लियान्द्रो ट्रोसार्ड र जेरेमी डोकुले विङ्गरको जिम्मेवारी सम्हाल्नेछन् भने स्ट्राइकरको रूपमा रोमेलु लुकाकुले मैदानमा उत्रनेछन्।