Skip to main content

रास्वपाले सीपीसीसँग मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न चाहन्छ

रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच बेइजिङमा भेटवार्ता भएको छ। भेटमा लिउले रास्वपासँग मैत्री सम्बन्ध विकास गर्न र विभिन्न क्षेत्रमा सहयोग बढाउन चीन तयार रहेको बताए। खनालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्न नदिने बताएका छन्।

१ असार, बेइजिङ। परराष्ट्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभाग (आईडीसीपीसी) का प्रमुख लिउ हाइसिङबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ। यस भेटवार्तामा सीपीसी र रास्वपा बीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र विकासका विषयमा छलफल भएको छ।

सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउले भने कि पार्टी र रास्वपा बीच आदा-प्रदान बढाउन, रणनीतिक सञ्चार सुदृढ पार्न र अनुभव साटासाट गर्न तथा पार्टी-प्लस च्यानलमार्फत विभिन्न क्षेत्रहरूमा सहयोग गर्न चीन तयार छ। जवाफमा परराष्ट्रमन्त्री खनालले नेपाल र चीनबीच सात दशक लामो कूटनीतिक सम्बन्ध सम्झँदै नेपाल पञ्चशील सिद्धान्तमा आधारित भएर चीनसंग सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

खनालले फेरि एक चीन नीति प्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै चीन विरोधी कुनै पनि गतिविधिमा नेपालभुमि प्रयोग हुन नदिने बताएका छन्। उनले वैज्ञानिक तथा प्राविधिक, शिक्षा, जलस्रोत र कनेक्टिभिटी क्षेत्रमा चीनसँग सहकार्य गर्न इच्छुक रहेको पनि व्यक्त गरेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीसँग अन्तरपार्टी सम्बन्ध बनाउन रास्वपा तत्पर रहेको उल्लेख गर्दै, सुशासन र सञ्जाल विकासमा सीपीसीको अनुभव रास्वपाका लागि महत्वपूर्ण हुने खनालले बताए।