Skip to main content

स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि भोजिन्हाका फलोअर्स ५० हजारबाट ५० लाखसम्म वृद्धि

२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका गोलकिपर भोजिन्हाको सामाजिक सञ्जाल फलोअर्स १० घन्टामा ५० हजारबाट ५० लाख पुगेका छन्। सन् २०१० का विश्व विजेता स्पेनसँग बराबरी गर्न ४० वर्षीय भोजिन्हाले शानदार प्रदर्शन गरेका थिए। खेलभरि स्पेनले निरन्तर आक्रमण गरे पनि उनले एकपछि अर्को उत्कृष्ट बचाउ गरेका थिए। केप भर्डे जस्तो सानो अफ्रिकी राष्ट्रका लागि स्पेनसँग बराबरीको नतिजा ऐतिहासिक उपलब्धि मानिन्छ। उक्त खेलमा भोजिन्हा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए। म्यान अफ द म्याच बन्ने क्रममा उनले भने, ‘यो अवार्ड मेरा सबै सहकर्मी खेलाडीहरूका लागि हो। म निरन्तर मेहनत गर्दै जानेछु।’ उत्कृष्ट प्रदर्शनका कारण उनी फुटबल प्रेमीहरूबाट व्यापक समर्थन र प्रशंसा पाएका छन्। खेलपछि उनको इन्स्टाग्राम फलोअर्स झनै बढेको छ। खेलअघि भोजिन्हाको इन्स्टाग्राममा ५० हजारभन्दा कम फलोअर्स थिए, तर समाचार तयार गर्दा उनी ५० लाख फलोअर्ससम्म पुगेका छन्।