Skip to main content

धनकुटामा जनश्रमदानबाट खनेर बनाइएको सडकको कालोपत्रे विश्व बैंकको सहयोगमा सुरु

२ असार, धनकुटा । धनकुटा नगरपालिकाको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा धामसम्म फैलिएको सडकको कालोपत्रे कार्य सुरु भएको छ। २०५७ सालमा जनश्रमदानबाट खनेर निर्माण गरिएको यो सडक अहिले विश्व बैंकको करिब ३६ करोड रुपैयाँको सहयोगमा कालोपत्रे भइरहेको छ। सरकारी बजेट र प्राविधिक स्रोत सीमित भएको समयमा गाउँलेहरूले ९६ दिनसम्म जनश्रमदान गरेर सडकको ट्रयाक खोलेका थिए। धनकुटा नगरपालिका वडा नं. १ र २ मा पर्ने यो सडक सुरुमा भीरगाउँका स्थानीयलाई हिले बजारमा पैदल आउ–जाउ गर्न सजिलो बनाउन बनाइएको थियो। तर समयसँगै यो सडक रिङरोड अवधारणासँग जोडिएको छ र अहिले धनकुटा नगरपालिकाको विकासको मेरुदण्ड बन्न पुगेको छ।

हाल विश्व बैंकको सहयोगमा सुरु भएको परियोजनाअन्तर्गत करिब ७.२ किलोमिटर सडकको स्तरोन्नति भइरहेको छ। यसमध्ये ३.३ किलोमिटरमा ढलान भइसकेको छ भने बाँकी ४ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्रेको काम जारी छ। धनकुटा नगरपालिकाका योजना तथा अनुगमन अधिकृत सीताराम गौतमका अनुसार मौसमले साथ दिए यही असार महिनाभित्रै कालोपत्रे सम्पन्न गर्ने लक्ष्य छ। सडक स्तरोन्नति हुँदा मधुगंगा धामसम्म धार्मिक पर्यटकको पहुँच सहज हुने र स्थानीय होटल, साना व्यवसाय र सेवामूलक गतिविधिहरूमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

रिङरोड अवधारणा पूर्ण हुन अझै बाँकी छ। माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपनि तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडकको स्तरोन्नति नहुदाँ रिङरोड अवधारणा पूर्ण हुन सकेको छैन। बजेट अभावका कारण काम अघि बढ्न नसकेको धनकुटा नगरपालिकाले जनाएको छ। हाल ट्रयाक खोल्ने र संरचनागत तयारी मात्र भएको छ। विश्व बैंकलाई प्रस्ताव पेश गरिए पनि स्वीकृति पाउन बाँकी रहेको गौतमले जानकारी दिए। माथिल्लो क्षेत्रबाट हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे भएपछि हिले बजारबाट भिरगाउँ र मधुगंगा धामसम्मको यात्रा सुगम भएको छ। त्यसैगरी तल्लो क्षेत्र बिहीबारेहाट–मालबाँसे–भिरगाउँ–मधुगंगा सडकको स्तरोन्नति वा कालोपत्रे भएमा धनकुटा बजार, भिरगाउँ र मधुगंगा धाम सजिलै पुगिनेछ र धनकुटा नगरपालिकाको रिङरोड अवधारणा पूर्ण हुनेछ।