Skip to main content

२४ वर्ष पुरानो तीतो सम्झना भुलाउन फ्रान्सको लक्ष्य

२ असार, काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा पहिलो पटक अफ्रिकी राष्ट्र सेनेगलसँग प्रतिस्पर्धा गर्दा २४ वर्षअघिको त्यो खेल सबैले सम्झनेछन् । फिफा विश्वकपमा यी दुई टोलीबीच भएको त्यो नै एकमात्र खेल थियो । अझ भनौँ अन्तर्राष्ट्रिय स्तरमा यी दुई टोलीबीच त्यही एकमात्र खेल भएको थियो । साविक विजेताको रूपमा जापान र दक्षिण कोरियामा भएको विश्वकप खेल्न पुगेको फ्रान्स समूह चरणको पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो । नतिजा सेनेगलले १-० ले आफ्नो पक्षमा पारेको थियो । समूह आई मा रहेका यी दुई टोलीबीचको खेल बुधबार बिहान पौने १ बजे मैदानमा सुरु हुनेछ । हाल विश्वकपका लागि सबैभन्दा सन्तुलित टोलीको रूपमा प्रस्तुत हुँदै गरेको फ्रान्सलाई उपाधिको प्रबल दावेदारको रूपमा हेरिएको छ र सेनेगलसँगको खेलमा फ्रान्सले २४ वर्ष पुरानो हारको बदला लिने लक्ष्य राखेको छ।

विश्वकप जितिसकेका कप्तान केलियन एमबाप्पेको नेतृत्वमा रहेको फ्रान्सेली टोलीमा अहिले उसमान डेम्बेले, माइकल ओलिस, डिजाएर डोउजस्ता खेलाडी अग्रपंक्तिमा छन् भने औरेलियन चुवामेनी, एड्रिएन रेबिओटले मिडफिल्ड सम्हाल्नेछन् । यस पटक फ्रान्सलाई स्पेनसँग उपाधिको प्रबल दावेदारको रूपमा हेरिएको छ र त्यसका लागि पहिलो खेलदेखि नै राम्रो सुरुवात गर्ने लक्ष्यमा छ । गत दिन, स्पेनलाई विश्वकपको नवप्रवेशी केप भर्डेले गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । यो नतिजाले धेरैलाई आश्चर्यमा पारेको थियो । त्यसैले फ्रान्सले पनि पहिलो खेलमा सेनेगललाई कम आँक्ने छैन । अहिले सेनेगल अफ्रिकाको बलियो टोलीको रूपमा रहेको छ । फिफा वरियतामा फ्रान्स तेस्रो र सेनेगल १५औं स्थानमा छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियेरे डेस्च्याम्प खेलाडी र प्रशिक्षक दुवैको रूपमा विश्वकप जित्ने थोरै व्यक्तिमध्ये एक हुन् । उनलाई यस पटकको विश्वकप जितेर फ्रान्सको प्रशिक्षक यात्रा सफलतापूर्वक अन्त्य गर्ने मौका छ । डेस्च्याम्पले विश्वकपपछि आफ्नो स्थान पूर्व कप्तान जिनेदिन जिदानलाई हस्तान्तरण गर्ने योजना बनाएका छन् । त्यसैले अमेरिका विश्वकपमा उनी सर्वकालिन महान प्रशिक्षक बन्ने अवसर पाउनेछन् । अमेरिकामा फ्रान्सले दोस्रो पटक विश्वकप जित्ने मौका पाउँदैछ । साथै, डेस्च्याम्पले सबैभन्दा धेरै विश्वकप जित्ने प्रशिक्षक बन्ने अवसर पनि छ । यदि फ्रान्सले समूह चरणका तीनवटै खेल जित्यो भने, डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट शोनको १६ खेलको कीर्तिमान भंग गर्नेछन् ।