Skip to main content

ललितपुरको डीएभी स्कूलको चौथो तलाबाट खसेर विद्यार्थीको मृत्यु

२ जेठ, काठमाडौं । ललितपुरस्थित डीएभी स्कूलको चौथो तलाबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुने विद्यार्थी चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता गौरव मिश्रले जानकारी दिनुभयो। घटना सोमबार दिउँसो साढे १२ बजे भएको हो। सिंह चौथो तलाबाट खसेका थिए। उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको थियो जहाँ साँझ साढे ६ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु आत्महत्या भएको हुनसक्ने देखिएको छ। स्कूलको सीसीटीभी फुटेजमा पनि उनी हामफालेको देखिएको प्रहरीले जनाएको छ। उनको साथबाट सुसाइड नोट पनि फेला परेको छ। उक्त सुसाइड नोटको फरेन्सिक परीक्षण भने हुन बाँकी छ। एक अनुसन्धान अधिकारीले भने, ‘सुसाइड नोट फेला परेको छ। उक्त अक्षर उनीकै हुन् या होइनन् जाँच गर्न बाँकी छ।’