कयौँ महान खेलाडीहरूले विश्वकपको ट्रफी आफ्नो हातले उचालेका छन्। तर ट्रफीको बारेमा अक्सर चर्चा हुँदैन या यसका दुई भिन्न संस्करणहरूको विषयमा थोरै मात्र जानकारी हुन्छ। विश्वकपको पुरानो ट्रफीलाई हालको डिजाइनले विस्थापित गरेको ५० वर्षभन्दा बढी समय भइसकेको छ। खेलकुदकै सबैभन्दा प्रतिष्ठित ट्रफीमध्ये एक मानिने विश्वकप ट्रफीलाई किन दुई फरक डिजाइन आवश्यक परेको होला?
मूल ‘ज्युल रीमे ट्रफी’ फिफाले विश्वकपको पहिलो प्रतियोगिता सन् १९३० मा आयोजना गर्दा पहिलो ट्रफीको प्रयोग सुरु गर्यो। त्यो बेला प्रतियोगिता ज्युल रीमेको नेतृत्वमा भएको थियो र पछि उनको सम्मानमा ट्रफीको नामकरण गरिएको थियो। रीमे फिफाको अध्यक्ष १९२१ देखि १९५४ सम्म सबैभन्दा लामो समयसम्म थिए। फ्रान्सेली मूर्तिकार अबेल लाफ्लुरले डिजाइन गरेको त्यो ट्रफीमा ग्रीक मिथक अनुसार विजयकी देवी नाइकीको आकृति रहेको छ। नाइकीले एउटा कचौरा उठाएको देखाउनुभएको छ।
यो “स्टर्लिङ सिल्भर” अर्थात शुद्ध चाँदीमा अलिकति तामाको मिश्रण गरी सुनको जलप लगाइएको थियो र “लापिस लाजुलाइ” भनिने नीलो रंगको बहुमूल्य पत्थरमा राखिएको थियो। दोस्रो विश्वयुद्धको समयमा फिफाका पदाधिकारी ओट्टोरिनो बारास्सीले उक्त ट्रफीलाई नाजीहरूको पहुँचबाट जोगाउन रोममा आफ्नो ओछ्यानमुनि जुत्ताको बट्टामा लुकाएर राखेका थिए। सन् १९६६ मा इङ्ग्ल्यान्डमा विश्वकप सुरु हुनुभन्दा केही महिना पहिले उक्त ट्रफी सार्वजनिक प्रदर्शनका लागि राखिएको ठाँउबाट चोरी भयो।
त्यसपछि पिकल्स नामक कुकुरले दक्षिण लन्डनको एउटा बगैंचामा झाडीमुनि लुकाइएको पत्रिकाले बेरिएको ट्रफी फेला पारेको थियो। सन् १९७० मा लगातार तेस्रो पटक विश्वकप जितेपछि ज्युल रीमे ट्रफीले ब्राजिललाई स्थायी स्वामित्वमा सुम्पियो। तर त्यो ट्रफी फेरि सन् १९८३ मा हरायो। ब्राजिल फुटबल संघको मुख्यालयबाट चोरी भएको उक्त ट्रफी फेला परेन र अनुमान गरिन्छ कि पगालिएको थियो। त्यति बेला फिफाले नयाँ विश्वकप ट्रफी तयार गरिसकेको थियो।
विश्वकपको नयाँ ट्रफी इटालीका कलाकार सिल्भियो गाड्जनिगाले बनाएका हुन्। उनले यूईएफए युरोपा लिग ट्रफी समेत डिजाइन गरेका छन्। फिफाको विश्वकपको नयाँ ट्रफी ३६ सेन्टिमिटर अग्लो छ र १८ क्यारेट सुनबाट बनेको छ। यसमा दुई मानवीय आकृतिहरू पृथ्वीलाई माथि उठाउँदै गरेको देखिन्छ। फिफाका अनुसार यो डिजाइनले “फुटबलको विश्वव्यापी एकता र भावना”लाई प्रतिबिम्बित गर्छ। सन् १९७४ मा पश्चिम जर्मनीले विश्वकप जितेर यो नयाँ ट्रफी पहिलो पटक उचालेको थियो। पुरानो ट्रफी हराएपछि फिफाले कुनै पनि टोलीलाई ट्रफी स्थायी रूपमा नदिने निर्णय गर्यो। विश्वकप विजेताले खेल सकिएपछि विशेष समारोहमा ट्रफी छुन पाउँछन् तर पछि विजेताले सुनको जलप लगाइएको प्रतिकृति ट्रफीले आफ्नो सन्तुष्टि जनाउनु पर्छ।

