अल्जाइमर्सका बिरामीको मस्तिष्क सफा गर्ने प्रणाली सक्रिय बनाउने नयाँ औषधि विकास
२ असार, काठमाडौं । कपरमा आधारित नयाँ औषधिले मस्तिष्कमा जम्मा हुने विषाक्त प्रोटिन सफा गरी बिरामीको स्मरणशक्ति सुधार भएको अनुसन्धानले देखाएको छ। अस्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकहरूले प्रयोगशालामा परीक्षण गर्दा ‘Cu(ATSM)’ नामक कपर कम्पाउन्डले अल्जाइमर्स रोगका कारण कमजोर बनेको मस्तिष्कको फोहोर फाल्ने प्रणाली पुनः सक्रिय गराउने पत्ता लगाएका छन्। यसले मस्तिष्कमा हानिकारक ‘एमाइलोइड-बिटा’ प्रोटिन जम्नबाट रोक्दै स्मरणशक्तिलाई पुनः सुदृढ बनाउने गर्छ।
यो औषधि पहिले नै पार्किन्सन र एएलएस जस्ता न्यूरोलोजिकल समस्याको उपचारका लागि मानिसमा परीक्षण भइसकेको हुँदा अल्जाइमर्सका लागि यसको क्लिनिकल ट्रायल छिट्टै सुरु हुने विश्वास गरिएको छ। अल्जाइमर्समा मस्तिष्कमा विषाक्त एमाइलोइड-बिटा प्रोटिन क्रमशः जम्मा हुन्छ, जसलाई रक्त-मस्तिष्क अवरोध (ब्लड-ब्रेन ब्यारियर) मा रहेका विशेष ‘पी-ग्लाइकोप्रोटिन’ (P-gp) पम्पहरूले सफा गर्छन्। तर, बिरामीमा यी पम्पहरू काम छोड्दा मस्तिष्कमा फोहोर जम्मा भई नसाहरू प्रभावित हुन्छन्।
मोनाश इन्स्टिच्युट अफ फार्मास्युटिकल साइन्सेजका प्रमुख लेखक डा. जे प्युनका अनुसार, ५६ दिनको उपचार अवधिमा नयाँ कपरयुक्त औषधिले ती पम्पहरूको संख्या २४ प्रतिशतले वृद्धि गरेको र विषाक्त प्रोटिन ४२ प्रतिशतले घटाएको पाइएको छ। यसको सकारात्मक प्रभाव स्वरूप प्रयोगशालामा मुसाहरूको सिक्ने र सम्झने क्षमता करिब ४४ प्रतिशतले सुधारिएको थियो। वैज्ञानिकहरूले औषधिको प्रभाव केवल पम्पहरू मर्मतमा सीमित नभई मस्तिष्कको रोग प्रतिरोधात्मक क्षमता बढाउने ‘माइक्रोग्लिया’ कोषहरूलाई पनि सक्रिय गर्ने उल्लेख गरेका छन्, जसले विषाक्त प्लाकहरूलाई नष्ट गर्छन्।
अनुसन्धान टोलीका वरिष्ठ प्राध्यापक जोसेफ निकोलाज्जोले औषधिको सुरक्षा परीक्षण पहिले नै भइसकेको र यसले अल्जाइमर्सको प्रारम्भिक लक्षण भएका बिरामीका लागि आशाजनक नयाँ उपचारको बाटो खोल्ने बताएका छन्। विश्वका धेरै देशहरू, विशेष गरी अस्ट्रेलियामा डिमेन्सिया र अल्जाइमर्स मृत्युको मुख्य कारण भएकाले यस अनुसन्धानलाई चिकित्सा विज्ञानमा एक ठूलो उपलब्धि मानिएको छ।

