Skip to main content

दलित समुदायको इतिहास झल्काउने लुहारेकोटको विकास

२ असार, मान्म (कालीकोट) । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकास हुँदै गएको छ। स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै यसको महत्व बढिरहेको छ। कालीकोटको खाडाँचक्र नगरपालिका–१, मान्म सदरमुकाम बजारमा अवस्थित लुहारेकोटलाई ऐतिहासिक दलित समुदायको वीरता र साहसको प्रतीकका रूपमा लिइएको छ। सदरमुकामको सिरानीमा निर्माण गरिएको प्रतिमासहितको संरचनाले स्थानीय इतिहास र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ, सामाजिक अभियन्ता बाले विश्वकर्माले बताउनुभयो।

‘लुहार समुदायका अनुसार यस स्थलको वास्तविक नाम ‘लुहारेकोट’ हो। यसको ऐतिहासिक पहिचानलाई सम्मानपूर्वक संरक्षण गरिनुपर्छ’, उहाँले भन्नुभयो। स्थानीय मौखिक इतिहास, वंशावली र जनविश्वासका आधारमा लुहारेकोटले खाँडाचक्र क्षेत्रको इतिहासमा महत्वपूर्ण स्थान ओगटेको छ, खाँडाचक्र नगरपालिका–२ स्थित पञ्चदेव माध्यमिक विद्यालयका शिक्षक लक्षिराम विश्वकर्माले जानकारी दिनुभयो। ‘यस स्थलको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रचारप्रसार भावी पुस्ताका लागि आवश्यक छ’, उहाँले थप्नुभयो, ‘स्थानीय जनश्रुति, मौखिक इतिहास र लुहार समुदायमा पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको वंशावलीका आधारमा लुहारेकोट केवल भूगोलिक स्थान मात्र नभई लुहार समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक केन्द्रका रूपमा परिचित छ।’

यस स्थानको इतिहास लुहार समुदायका प्रथम पुर्खा मानिने शान्ति लुवारसँग जोडिएको छ र स्थानीय विश्वासअनुसार शान्ति लुवार नै लुहारेकोटका संस्थापक तथा यस क्षेत्रका प्रारम्भिक शासक हुनुहुन्छ, लक्षिरामले जानकारी दिनुभयो। ‘त्यस समयमा लुहारेकोटको तल, हालको मान्म बजार क्षेत्रमा लुहार समुदायको ठूलो बस्ती थियो। वर्तमान प्रतिमा चोकबाट पूर्वतर्फ लुहारेकोटसम्मको सम्पूर्ण भूभाग लुहार समुदायको अधीनमा रहेको जनविश्वास छ’, उहाँले भन्नुभयो। अहिलेको जिल्ला अदालत तथा जिल्ला समन्वय समितिको कार्यालय रहेको क्षेत्र वरिपरि लुहारहरूको पुरानो बस्ती रहेको विश्वास गरिन्छ। उक्त बस्ती भन्दा माथि रहेको विशाल र अग्लो ढुङ्गालाई नै ‘लुहारेकोट’ भनिएको छ।

स्थानीयहरूको भनाइअनुसार यही ढुङ्गामा बसेर राज्य सञ्चालन, न्यायिक फैसला, प्रशासनिक बैठक र जनसरोकारका विषयमा छलफल हँुदै आएको थियो। यसैकारण उक्त स्थानलाई तत्कालीन शासन केन्द्रका रूपमा लिइन्छ। हाल कालीकोटको खाडाँचक्र नगरपालिकाले लुहारेकोटको इतिहास झल्काउने गरी वीरताको प्रतीकसहित प्रतिमा निर्माण गरेको छ, नगरउपप्रमुख गणेशबहादुर शाहीले बताउनुभयो।