Skip to main content

कोशी प्रदेशमा चिया र कफी उत्पादनमा वृद्धि

२ असार, काठमाडौं । चालु आर्थिक वर्षमा कोशी प्रदेशमा चिया र कफी उत्पादनमा वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार, कोशीमा चिया उत्पादन ०.९ प्रतिशत र कफी उत्पादन १७.६ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकको चालु आवको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ कि कोशी प्रदेशको समग्र कृषि बाली उत्पादन ४.४ प्रतिशतले घटेको छ। गत आवको सोही अवधिमा उत्पादन ७ प्रतिशतले वृद्धि भएको थियो।

खाद्य, नगदे तथा अन्य बाली उत्पादनमा धान ४ प्रतिशतले घटेको छ भने मकै ०.३, गहुँ २.५, कोदो ०.३, जौ १३.७, फापर २.५१ र आलु २ प्रतिशतले वृद्धि भएको छ। तरकारी उत्पादन ६.४ प्रतिशत, फलफूल २.६ र मसला उत्पादन ११.८ प्रतिशतले घटेको छ। यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ३९.८ प्रतिशतमा सिँचाइ सुविधा पुगेको छ, जुन गत आवको ४०.८ प्रतिशतको तुलनामा कम हो।

चालु आवको पुससम्म कोशीमा दूध उत्पादन १.९ प्रतिशत र माछा उत्पादन १६.५ प्रतिशतले वृद्धि भएको छ भने मासु उत्पादन ५.१, अन्डा १८.५ र ऊन उत्पादन ०.४ प्रतिशतले घटेको छ। चालु आवको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। गत आवको आर्थिक वृद्धिदर २.७२ प्रतिशत रहेको थियो। २०८२/८३ मा कोशीको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३२.४७ प्रतिशत, १७.६७ र ४९.८५ प्रतिशत रहने अपेक्षा गरिएको छ।