दक्षिण कोरिया जान लगाएर ठगीका घटना बढ्दै, दूतावासले सतर्कता अपनाउन आग्रह गर्यो
२ असार, काठमाडौं । दक्षिण कोरियामा रोजगारी वा बसाइँसराइ सुविधाको आश्वासन दिएर नेपाली नागरिकहरूलाई ठगी गर्ने घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। केही ब्रोकर र व्यक्तिहरूले दक्षिण कोरिया पठाउने, रोजगार दिलाउने वा बसाइँसराइको प्रक्रिया सहज बनाउन सक्छु भन्ने बहानामा ठूलो रकम असुल्ने गरेपछि, काठमाडौंस्थित कोरियाली दूतावासले सूचना जारी गरेर सबैलाई सतर्क रहन आग्रह गरेको छ। दूतावासले यस्ता व्यक्ति वा संस्था भेटिएमा तत्काल नेपाल प्रहरीले जानकारी गराउन अनुरोध गरेको छ।
दक्षिण कोरियामा रोजगार वा बसाइँसराइको प्रक्रिया अनधिकृत ब्रोकरमार्फत सम्भव नहुने कुरा दूतावासले स्पष्ट पारेको छ। वैदेशिक रोजगारीको नाममा हुने ठगीबाट बच्न सर्वसाधारणलाई सचेत र सुरक्षित रहन सुझाव दिइएको छ। हाल वैदेशिक रोजगारप्रति आकर्षण बढ्दै जाँदा विभिन्न देशहरूमा रोजगारको नाममा रकम असुल्ने घटना पनि बढिरहेका छन्। यस अवस्थामा आधिकारिक निकायहरूबाट मात्र जानकारी लिनुपर्ने र कुनै पनि आर्थिक कारोबार अघि राम्ररी बुझ्न आवश्यक रहेको दूतावासले जोड दिएको छ।