अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्यो। ३ असार, काठमाडौं। एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि फिर्ता आएको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गर्यो। अमेरिकाको बोस्टन स्टेडियममा समूह आई को खेलमा नर्वेले इराकलाई ४-१ गोल अन्तरले हरायो।
नर्वेको शानदार जितमा एर्लिङ हालान्डले दुई गोल गरे भने लियो ओस्टिगार्डले एक गोल गरे र एक गोल उपहार स्वरूप प्राप्त भयो। इराकका आयमन हुसेनले एक सान्त्वना गोल गरे। हालान्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाए। त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको ४३औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोश्रो पटक अग्रता दिलाए। ७६औं मिनेटमा नर्वेका लियोले हेड मार्फत गोल गर्दै टीमको अग्रता बढाए। दोस्रो हाफको इन्जुरी समयमा छैटौं मिनेटमा आत्मघाती गोल हुँदा नर्वेले ४–१ ले जित सुनिश्चित गर्यो। इराकका हुसेनले प्रहार गरेको बल आफ्नै गोलपोष्टमा पुगेपछि नर्वेले एक उपहार गोल पायो।
यो जितपछि नर्वे समूह ‘आई’ मा ३ अंकसहित शीर्ष स्थानमा छ। समान ३ अंक रहेको फ्रान्स गोलअन्तरले दोस्रो स्थानमा छ। पहिलो खेलमा पराजित भएका सेनेगल र इराक भने अंकविहीन छन्। नर्वेले अन्तिम पटक सन् १९९८ मा विश्वकप खेलेको थियो, जहाँ उसले अन्तिम १६ मा प्रवेश गरेको थियो। त्यसपछि विश्वकप छनोटमा सफलता हात पार्न सकेको थिएन।

