३ असार, काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यालिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रंगशालामा बुधबार भएको पहिलो खेलमा अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गर्यो । अष्ट्रियाको जितमा रोमानो स्चमिड र मार्को अर्नाटोभिकले एकएक गोल गरे भने एक गोल उपहारस्वरूप पायो ।
खेलको २०औं मिनेटमा रोमानोले गोल गर्दै अष्ट्रियालाई अग्रता दिलाएका थिए । तर, ५०औं मिनेटमा अली ओल्वानले गोल गर्दै जोर्डनलाई बराबरीमा फर्काएका थिए । खेलको ७६औं मिनेटमा जोर्डनका याजान अलारबले आत्मघाती गोल गरेपछि अष्ट्रियाले दोस्रोपटक अग्रता लिने अवसर पायो । दोस्रो हाफको इन्जुरी समयमा डिबक्स भित्र जोर्डनका खेलाडीको हातमा बल लागेपछि अष्ट्रियाले पेनाल्टी पायो । मार्कोले त्यस पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरे ।
जितसँगै अष्ट्रियाले ३ अंक जोडेर समूह ‘जे’ मा दोस्रो स्थानमा छ । समान ३ अंक भएको अर्जेन्टिना गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । जोर्डन र अल्जेरिया भने अंकविहीन छन् । आठौं पटक विश्वकप खेलेको अष्ट्रिया सन् १९५४ मा भएको विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको अष्ट्रिया २८ वर्षपछि विश्वकपमा फर्किएको हो । एसियाली राष्ट्र जोर्डन पहिलोपटक विश्वकपको मैदानमा पुगेको हो ।

