Skip to main content

चिया निकासी खुलाउन सरकारले सुरु गर्याे पहल

३ असार, विराटनगर। भारतीय पक्षले नेपाली चियाको निकासीमा अवरोध पुर्‍याएपछि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले सरकारसँग उक्त अवरोध हटाउन आग्रह गरेको छ। भारतीय पक्षले अवरोध गर्ने कारण नेपाली चिया निर्यात रोकिएको छ जसले गर्दा इलामका ५३ चिया उद्योगहरू १ असारदेखि बन्द भएका छन्। झापाका ३२ उद्योगीहरूले बिहीबारबाट चिया उद्योग बन्द गर्ने घोषणा गरेका छन्। निकासीमा देखिएको अवरोधका कारण चिया उद्योग संकटमा परेपछि महासंघले निकासी पुनः सुरु गर्न उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नेपाली चिया उद्योग, किसान र श्रमिकहरूको हित संरक्षण गर्न निर्यातका लागि अनुकूल वातावरण बनाउन सरकारले ढिलाइ गर्नु हुँदैन भनी उल्लेख गरेका छन्। ‘चिया उद्योगले वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको छ,’ अध्यक्ष राउतले भने, ‘भारतीय पक्षबाट ल्याइएको नयाँ व्यवस्थाका कारण ठूलो मात्रामा तयारी चिया सीमानाकामा रोकिएको छ। यसले उद्योगहरूमा मौज्दात बढाएको र नगद प्रवाहमा गम्भीर समस्या उत्पन्न गरेको छ।’ उनले हजारौं किसान, श्रमिक र उद्यमीहरू यसबाट प्रत्यक्ष प्रभावित भएको बताएका छन्।
चिया उद्योग बन्द हुँदा प्रत्यक्ष रूपमा २० हजारभन्दा बढी श्रमिक र उनीहरूमा आश्रित परिवारहरूको जीविकोपार्जन संकटमा परेको राउतले बताएका छन्। नेपालमा करिब १० हजार हेक्टर जमिनमा वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुने गरेको छ। कुल उत्पादनको ठूलो भाग, अर्थात् २ करोड ५६ लाख किलोग्राम चिया वार्षिक रूपमा मुख्यतया भारततर्फ निर्यात हुँदै आएको थियो। तर, प्रमुख बजारमा अवरोध आएपछि चिया क्षेत्र धराशायी हुने अवस्थामा पुगेको उनले जोड दिएका छन्।