नेपालमै कपडा उत्पादन सुरु गरेको सिस्टरहुड क्लोथिङमा अहिले विभिन्न पेशा र क्षेत्रमा १०० जना महिला आबद्ध छन्। महिलाका लागि प्लस साइज कपडा उत्पादन गर्ने यस कम्पनीले पोखरासहित देशका प्रमुख १० सहरमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ। उनीहरू ठीक १०० जना छन्। उमेर, पेशा र पृष्ठभूमि फरक भए पनि एउटै सपना, एउटै व्यवसायमा साथ छन्। नाम हो, सिस्टरहुड क्लोथिङ। कसरी एउटै व्यवसायमा १०० जनाको मत मिल्यो, सहकार्य भयो? यसको कथा सुरु हुन्छ करिब १५ वर्षअघि। त्यो बेला उनीहरू १०० थिएनन्, दुई पतिपत्नी मात्र थिए। सामान्य कपडा पसल चलाउँथे। अहिले त्यो स्वामित्व १०० महिला हातमा छ।
सिस्टरहुड क्लोथिङकी सह–संस्थापक एन्जिला श्रेष्ठका अनुसार व्यवसायको शुरुवात सामान्य आयात–आधारित मोडेलबाट भएको थियो। उनी र उनका श्रीमान्ले थाइल्यान्डबाट कपडा आयात गरी नेपालमा बिक्री गर्ने काम थालेका थिए। त्यसबेला बजारमा रहेका अन्य कपडा पसलजस्तै उनीहरूको पनि आयातित सामग्रीमा निर्भरता थियो। तर सन् २०२० मा आएको कोभिड–१९ महामारीले व्यवसायलाई चुनौती दिएको थियो। अन्तर्राष्ट्रिय ढुवानी प्रभावित भयो, सामान ल्याउन कठिन भयो र लागत समेत बढ्यो। ग्राहकको क्रयशक्ति कम हुँदै गएको थियो भने व्यवसाय सञ्चालन गर्न कठिन हुँदै गइरहेको थियो।
‘एक समयमा व्यवसाय बन्द गर्ने सोच samma पुँगी’ एन्जिला बताउँछिन्। ‘त्यो बेला हामीले नेपालमै उत्पादन गर्ने सम्भावनाबारे सोच्यौं। आफ्नै डिजाइन, आफ्नै उत्पादन र ब्रान्ड निर्माण गर्ने निर्णय गर्यौं।’ त्यसपछि उनीहरूले आफ्नै कारखाना स्थापित गरी ‘मेड इन नेपाल’ उत्पादन सुरु गरे। यसले लागत नियन्त्रणमा सहयोग पुर्यायो भने नयाँ डिजाइन विकास र बजार अनुरूप उत्पादन गर्न सहज भयो।
अनलाइन अर्डरका क्रममा ग्राहकबाट प्लस साइज कपडाको माग आएपछि कम्पनीले नयाँ अवसर देख्यो। धेरै महिलाले मनपरेको डिजाइनमा उपयुक्त साइज नपाउँदा गुनासो गर्थे। ‘त्यसपछि हामीले बुझ्यौं कि प्लस साइज बजारमा ठूलो सम्भावना छ’ श्रेष्ठ बताउँछिन्। ‘धेरै ब्रान्डले यो वर्गलाई प्राथमिकता नदिएकोले हामीले यो क्षेत्रमा केन्द्रित हुन निर्णय गर्यौं।’
अहिले कम्पनीले १२०–१३० किलोसम्मका महिलाका लागि ब्लेजर सेट, फर्मल प्यान्ट, टप, जिन्स र कटन ड्रेसजस्ता कपडा उत्पादन गर्दैछ। कम्पनीको सबैभन्दा लोकप्रिय उत्पादन ब्लेजर सेट हो। १०० महिलाको सहकार्यमा कारखाना स्थापना भएपछि व्यवसाय छिटो बढ्दै गइरहेको छ। तर एन्जिलालाई लाग्यो कि सीमित व्यक्तिको प्रयासले व्यवसाय ठूलो पहिचान पाउन सक्दैन। त्यसैले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने र व्यवसायको मालिक बनाउने सोचका साथ नयाँ अवधारणा ‘सिस्टरहुड’ जन्मियो।
‘एक जनाले व्यवसाय गर्दा जति प्रभाव हुन्छ, १०० जनाले गर्दा त्यो गुणा बढी हुन्छ’ उनी भन्छिन्। उनीहरूले महिलालाई मात्र ग्राहक होइन, मालिक बनाउने दृष्टिकोण लिए। सामाजिक सञ्जालमार्फत यो अवधारणा सार्वजनिक गर्दा अपेक्षाभन्दा बढी महिलाले चासो देखाए। विभिन्न चरणमा बैठक भएका थिए, जहाँ सम्भावित सदस्यहरूलाई योजना, जोखिम, लगानी र भविष्यका लक्ष्य समेटेर विस्तृत जानकारी दिइयो। करिब पाँच–छ महिनाको प्रयासपछि १०० महिला सहभागी भएर ‘सिस्टरहुड क्लोथिङ’ औपचारिक रूपमा सुरु भयो।
गृहिणीदेखि डाक्टरसम्म, शिक्षक, बैंककर्मी, कोरियोग्राफर, विद्यार्थी, ब्युटिसियन र विभिन्न पेशाकर्मीहरू सिस्टरहुडमा छन्। यसले विभिन्न अनुभव र सीपलाई एउटै ठाउँमा ल्याएको छ। ‘हामी विशाल विविधतामा बलियो छौं’ श्रेष्ठ बताउँछिन्।
प्रत्येक महिलाले दुई लाख रुपैयाँ लगानी गरेका छन्। यो लगानीबाट व्यवसाय वृद्धि, उत्पादन विस्तार र ब्रान्ड विकासमा मद्दत पुग्यो। कतिपयले यो अवसरका लागि विशेष प्रयास गरे जस्तै, एक सदस्यले एक तोला सुन बेचेर पनि सहभागी हुने इच्छा व्यक्त गरेकी थिइन्। लगानी केवल आर्थिक निष्पादन मात्र नभई व्यवसायको स्वामित्व अनुभव हुने माध्यम बन्न पुगेको छ।
पारदर्शिता कायम राख्न सिस्टरहुडले प्रविधिको प्रयोग गरेको छ। मोबाइल एपमार्फत सदस्यहरूले दैनिक कारोबार, स्टक, बिक्री र नाफा देख्न सक्छन्। साथै, स्टोरमा जडान गरिएको सिसिटिभी प्रणालीमा सदस्यहरूको पहुँच छ। ‘पारदर्शितालाई प्राथमिकता दिनाले १०० जनाबीच विश्वास पक्का भएको छ’ एन्जिला बताउँछिन्।
हाल कम्पनीमा ९ जना प्रत्यक्ष काम गरिरहेका छन्, तर यसको प्रभाव सामाजिक सञ्जालमा सामग्री उत्पादन, फोटोसुट, मोडलिङ, प्रचारप्रसार र डिजिटल मार्केटिङबाट अन्य महिलायसम्म पुगेको छ। कम्पनीले मोडलिङ र भिडियो सामग्री निर्माणका लागि महिलालाई पारिश्रमिकसमेत उपलब्ध गराउँछ।
ग्राहक सेवामा सिस्टरहुड क्लोथिङले विशेष ध्यान दिएको छ। नेपालभर क्यास–अन–डेलिभरी सुविधा उपलब्ध गराइरहेको कम्पनीले धेरै अनलाइन व्यवसायले लाग्ने अग्रिम भुक्तानी, कडाइ भएका एक्सचेन्ज नियमबारे लचिलो नीति अपनाएको छ। आवश्यकताअनुसार एक्सचेन्ज र रिफन्डमा प्राथमिकता दिइएकोले ग्राहकको विश्वास जता रहेको छ। ‘हामीले ग्राहकलाई सम्मान गर्ने संस्कृतिमा विश्वास गर्छौं’ एन्जिला भन्छिन्।
एन्जिला श्रेष्ठको व्यक्तिगत यात्रा पनि रोचक छ। व्यवस्थापन विषय अध्ययन गरेर सुरुमा बैंकिङ क्षेत्रतिर जाने सोचमै थिइन्। तर रेडियोमा काम गर्ने अवसर पाएपछि सञ्चार क्षेत्रमा प्रवेश गरिन्। उनले विभिन्न रेडियो र टेलिभिजनमा समाचार वाचक र रिपोर्टरको रुपमा काम गरिन्। पछि उद्यमशीलतामा सक्रिय भइन्।
अब कम्पनीले पोखरामा शाखा खोल्ने तयारी गरिरहेको छ भने देशका प्रमुख सहरमा कम्तीमा १० वटा शाखा सञ्चालन गर्ने दीर्घकालीन योजना छ। शाखा विस्तारबाट आएको नाफा पनि सदस्यहरू माझ बाँडिने छ।
सिस्टरहुड क्लोथिङको लक्ष्य केवल कपडा बेच्नु मात्र होइन, महिलाहरूले बनाएको, सञ्चालित र विश्वास गरिने विश्वसनीय नेपाली ब्रान्ड बन्ने हो। गुणस्तर, उचित मूल्य, ग्राहक सेवा र पारदर्शिता कायम राखिएमा सिस्टरहुड नेपाली फेसन उद्योगमा फरक पहिचान बनाउनेमा विश्वास छ। यहि साझा सपना, लगानी र नेतृत्वमा आधारित सिस्टरहुडले महिला सशक्तीकरणको व्यवहारिक उदाहरण प्रस्तुत गरेको छ।

