आज कंगो राष्ट्रिय टोलीका लागि खेल्नु उनको गर्वको कुरा हो। उनी केवल क्लबका खेलाडी मात्र होइनन्, उनी आफ्नो देशको प्रतिनिधि हुन्। र आज, त्यही प्रतिनिधिले इतिहास रचे। अमेरिकाको ह्युस्टनमा पोर्चुगलविरुद्ध भएको खेलमा कङ्गोका योएन विसाले ऐतिहासिक गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका छन्। यो गोल कङ्गोको ५२ वर्षको प्रतीक्षापछि विश्वकपमा गरेको पहिलो गोल हो, जसले बलियो प्रतिद्वन्द्वी पोर्चुगललाई रोक्न सफल भयो। सन् २०२१ मा एसिड आक्रमणमा गम्भीर घाइते भएका विसाले छ महिनाको उपचार र कठिन सङ्घर्षपछि मैदान फर्किएर यो सफलत हासिल गरेका हुन्।
ह्युस्टनको स्टाडियम चम्किरहेको थियो। खेल मैदानमा पोर्चुगल र कङ्गोको टिमहरू थिए। केन्द्रबिन्दुमा पोर्चुगलको टोली थियो र आकर्षण रोनाल्डो। स्टेडियमका हरेक कुनामा रातो पोर्चुगलको जर्सी देखिन्थ्यो। त्यस्तै, कंगोका निलो जर्सीहरू शान्त तर दृढ देखिन्थे। समर्थकहरूको हुटिङ एउटै नाममा गुञ्जिरह्यो, ‘रोनाल्डो, …रोनाल्डो।’ त्यो आवाजले वातावरण थप ताताएको थियो। खेल सुरु हुनासाथ पोर्चुगलले आफ्नो श्रेष्ठता प्रदर्शन गर्यो। तीव्र पासिङ, मिडफिल्ड नियन्त्रण र विङबाट निरन्तर आक्रमणले कंगोलाई दबाबमा राख्यो। कंगोको टोली मुख्य रूपमा रक्षामा सीमित थियो। उनीहरूले बल चोरी गरेर काउन्टर अट्याक गर्ने रणनीति अपनाएका थिए। खेलको १२औँ मिनेटमै पोर्चुगलले अग्रता लियो।
तर कंगो डराएको थिएन। उनीहरूले संरचना बनाए, मिडफिल्ड बलियो बनायो र अवसरको प्रतिक्षा गरे। यो केवल फुटबल मात्र थिएन, यो ५२ वर्षको प्रतीक्षापछि विश्वकपमा आफ्नो पहिचान कायम गर्ने लडाइँ थियो। कंगोका समर्थकहरू थोरै भए पनि उनीहरूको आवाजले स्टेडियममा आफ्नो उपस्थिति प्रकट गरिरहेको थियो। धेरैले सोचे यो खेल एकतर्फी हुनेछ र यहीँ समाप्त हुनेछ। तर कंगोले हार मानेन। मैदानमा कंगोको अनुशासन र साहसले फरक कथा लेख्न थालिसकेको थियो। खेलको अन्त्यतिर विसाले गोल गर्दै कंगोको पहिलो विश्वकप गोलको इतिहास रच्न सफल भए।

