नेपाली युवा समावेश एआई कम्पनीले तीन अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको लगानी जुटायो
आदित्य सुवेदी र क्यानडाका इब्राहिम हुसेनले संयुक्त रूपमा स्थापना गरेको आर्किटेक्ट ल्याब्सले कस्टम चिप निर्माणका लागि २४ मिलियन अमेरिकी डलर (नेपाली रुपैयाँमा करिब ३ अर्ब ६२ करोड) लगानी जुटाउन सफल भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, १९ वर्षका सुवेदी र हुसेनद्वारा विकास गरिने यी चिपहरूले ब्रोडकम र यसको प्रतिस्पर्धी मार्भेलद्वारा अमेजन र अल्फाबेटको गुगलजस्ता क्लाउड कम्प्युटिङ कम्पनीहरूका लागि एआई र अन्य सामान्य प्रयोजनका कम्प्युटिङ चिप डिजाइन गर्न मद्दत पुर्याउनेछ। रोयटर्सले उल्लेख गरेको छ कि मार्भेल र ब्रोडकमले डिजाइन गरेका यी कस्टम चिपहरूले अर्बौँ डलर राजस्व सिर्जना गर्ने अनुमान गरिएको छ र यसले एनभिडियाको शक्तिशाली हार्डवेयरलाई विकल्प प्रदान गर्नेछ।
सुवेदी काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलबाट कक्षा १० र आइबी युलेन्सबाट कक्षा १२ पास गरी हार्वर्ड विश्वविद्यालय प्रवेश गरेका थिए। हार्वर्डमा एआई प्रयोग गरी कोड भेरिफिकेशन सम्बन्धी अनुसन्धान गरिरहेको बेला, उनले अर्को प्रख्यात विश्वविद्यालय स्ट्यानफोर्ड गएर हुसेनसँग भेट गरेका थिए। हुसेनले १५ वर्षको उमेरमा कलेजमा भर्ना भएर विद्यालय छाडेका थिए र पछि एप्पल र टेस्लामा कस्टम चिप विकासमा कार्यरत थिए। उनीहरूले मिलेर आर्किटेक्ट ल्याब्स स्थापना गरेका छन्।
दुवै जनाले अनुसन्धान चिप डिजाइन र प्रमाणीकरणका लागि एआई प्रणाली विकासमा सहकार्य गर्न थालेका छन्। एआई प्रगतिसँग हार्डवेयर विकासबीचको दूरी देखेपछि उनीहरूले पढाइ छोडेर आर्किटेक्ट ल्याब्स सुरु गरेका हुन्। आर्किटेक्ट ल्याब्सले डिजाइन प्रक्रियालाई सस्तो र छिटो बनाउन लक्ष्य राखेको छ, जुन प्रक्रियामा हाल करिब दुई वर्ष लाग्ने अनुमान छ। श्रम लागत र अनुसन्धान तथा विकासमा थप करोडौँ खर्च हुनसक्ने सुवेदी र हुसेनले बताएका छन्। कम्पनीले चिप निर्माता कम्पनीहरूलाई डिजाइन प्रक्रियामा तीव्रता ल्याउने मात्र नभई, आफ्ना एप्लिकेसनहरू छिटो र प्रभावकारी चलाउन चाहने सफ्टवेयर कम्पनीहरूलाई कस्टम चिप प्रयोग गर्ने लक्ष्य राखेको छ, आर्किटेक्टका सह-संस्थापक इब्राहिम हुसेनले रोयटर्सलाई बताए।
हुसेनले भने, ‘ठूला कम्पनीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या ब्याकएन्ड एक्सिक्यूसन वा लेआउट मात्रै होइन, तर उनीहरूको चुनौती हो, जे दुनिया समक्ष ल्याउन चाहन्छौं, त्यस कार्यभारलाई कसरी व्यवस्थापन गर्ने र उपयुक्त (चिप) आर्किटेक्चर कसरी डिजाइन गर्ने।’ पालो अल्टो, क्यालिफोर्नियामा आधारित यो कम्पनी हुसेन र आदित्य सुवेदीले स्थापना गरेका हुन् र मेसिन लर्निङ र हार्डवेयर क्षेत्रमा करिब १८ जना कर्मचारी रहेको छ। ताइवानको टीएसएमसीले चिप उत्पादनलाई सर्वसुलभ बनाएको जसरी, चिप डिजाइनलाई पनि त्यस्तै सहज बनाउन आफ्नो उद्देश्य रहेको सुवेदीले बताए। कम्पनीको फन्डिङ राउन्डलाई किन्ड्रेड भेन्चर्सले नेतृत्व गरेको थियो, जसमा टिक्यु भेन्चर्स, रेस क्यापिटल र टुगेदर फन्ड सहभागी थिए। गुगल डीपमाइन्डका मुख्य वैज्ञानिक जेफ डिन र ओपनएआई तथा एनभिडियाका कार्यकारीहरूले पनि यस कम्पनीमा लगानी गरेका छन्। आर्किटेक्ट ल्याब्सले विभिन्न कम्पनी, एआई अनुसन्धानशाला र राष्ट्रहरूसँग साझेदारी गरेर जटिल कम्प्युटिङ कार्यभारका लागि विशेष चिपहरू विकास गर्ने जनाएको छ। चिप डिजाइन प्रविधि क्षेत्रमा सबैभन्दा चुनौतीपूर्ण र सीमित पहुँच भएका कार्यहरूमा पर्दछ। यसका लागि वर्षौंको विकास, करोडौँ डलरको लगानी र केही विशेष कम्पनीहरूमा सीमित विशेषज्ञताको आवश्यकता पर्छ।

