Skip to main content

रमेश र सुनसरीले जिते रामारोशन स्काई रनिङको उपाधि

ताप्लेजुङका रमेश लिम्बू र नेपाल आर्मीकी सुनसरी रोकायाले रामारोशन स्काई रनिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन्। सुदूरपश्चिमको पर्यटकीय क्षेत्र रामारोशनमा आयोजित प्रतियोगितामा देशभरका ५७ जिल्लाका १५३ जना धावकले प्रतिस्पर्धा गरेका थिए। २८ किलोमिटर दूरीको यस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ पाए। ५ असार, काठमाडौं।

नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) ले पहिलोपटक आयोजना गरेको ‘रामारोशन स्काई रनिङ २०२६’ मा रमेश लिम्बू पुरुष खुला वर्गमा र सुनसरी महिला खुला वर्गमा विजेता बने। खुला २८ किलोमिटर दूरी लिम्बूले ३ घण्टा २८ मिनेट १५ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। त्यसैगरी जुम्लाका सोनम बहादुर रावत ३ घण्टा ३० मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए। अर्जुन बुढा ३ घण्टा ४१ मिनेटमा तेस्रो स्थानमा रहे।

महिलातर्फ खुला विधामा सुनसरी रोकायाले ४ घण्टा ३२ मिनेट ४४ सेकेन्डमा दूरी पूरा गरी पहिलो स्थान लिइन्। खोटाङकी निर्मला राई ४ घण्टा ३४ मिनेट १७ सेकेन्डमा दोस्रो भइन्। स्थानीय युवाहरुलाई प्रोत्साहन गर्न २० वर्षमुनिका खेलाडीका लागि ५ किलोमिटर सामुदायिक दौड आयोजना गरिएको थियो, पुरुषतर्फ पञ्चदेवल बिनायक नगरपालिकाका सुशील तिमिल्सिनाले २४ मिनेटमा दौड पूरा गरी पहिलो भए। महिला वर्गमा देबकी धामीले २९ मिनेट २७ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान लिइन्।

२८ किलोमिटर स्काई रनिङ च्यालेन्जका पुरुष र महिला दुवै वर्गका पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। यसका साथै दुवै वर्गका शीर्ष १० स्थान हासिल गर्ने धावकहरूलाई पनि नगद पुरस्कार प्रदान गरिएको छ। ५ किलोमिटर सामुदायिक दौडका पुरुष र महिला उत्कृष्ट खेलाडीहरूलाई क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिइएको छ। सबै विजेताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको छ। सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र रामारोशनमा सम्पन्न प्रतियोगितामा देशभरका विभिन्न ५७ जिल्ला समेटिएका १५३ धावकले प्रतिस्पर्धा गरे। २ हजार १५० देखि ३ हजार ८३० मिटरको उचाइ फरक भएको चुनौतीपूर्ण मार्गमा भएको यस प्रतियोगिताले साहसिक खेलको प्रवर्द्धनसँगै रामारोशनको पर्यटन विकासमा समेत मद्दत पुग्ने अपेक्षा गरिएको छ।