यस जितपछि अमेरिका कम्तिमा उत्कृष्ट तेस्रो स्थानमा रहने टिमका रूपमा अर्को चरणमा पुग्ने पक्का भएको छ। अमेरिकाले फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत सिएटलमा सम्पन्न खेलमा अस्ट्रेलियालाई २–० ले हराउँदै लगातार दोस्रो जित हासिल गर्यो। यस जितसँगै अमेरिका ६ अंक जोडेर नकआउट चरणमा नजिक पुगेको छ भने अस्ट्रेलियाको दुई खेलबाट ३ अंक रहेको छ। अमेरिकाका लागि एलेक्स फ्रिम्यानले एक गोल गरे भने खेलको ११औं मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गरे। ६ असार, काठमाडौं।
अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। सिएटल स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा पुगेको हो। यस जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टिमका रूपमा नकआउट चरणमा पुग्ने सुनिश्चित भयो। समूह ‘डी’ मा रहेको अमेरिकाले २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो। पहिलो हारपछि अस्ट्रेलियाले दुई खेलबाट ३ अंक मात्र जोडेको छ। पाराग्वे र टर्की भने अहिलेसम्म अंकविहीन रहेका छन्।
शनिबार बिहान हुने खेलमा पाराग्वेले टर्कीलाई हराएमा अमेरिकाले शीर्ष दुई स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्ने निश्चित पार्नेछ। अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एउटा गोल गरे भने अर्को गोल उपहार स्वरूप प्राप्त भयो। अमेरिकाले अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोल मार्फत अग्रता लिएको थियो। खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अस्ट्रेलियाको डिबक्सभित्र क्रस गरेका थिए। त्यसपछि अस्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्दै गर्दा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा पुग्दा अमेरिका अग्रता लिन सफल भयो। ४३औं मिनेटमा एलेक्स फ्रिम्यानले गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। त्यसपछि दुवैतर्फको खेलमा थप गोल हुन सकेन। अस्ट्रेलियाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो प्रदर्शन गरे पनि गोल निकाल्न सफल भएन।

