इंग्लिस प्रिमियर लिग २०२६–२७ को सिजन आगामी २१ अगस्टदेखि सुरु हुने गरी खेल तालिका सार्वजनिक गरिएको छ। उद्घाटन खेलमा पूर्व विजेता आर्सनलले २५ वर्षपछि शीर्ष डिभिजनमा फर्किएको नवप्रवेशी कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्नेछ। यस सिजनको समापन ३० मे २०२७ मा हुनेछ र दुई खेलबीच कम्तीमा ६० घण्टाको अन्तर सुनिश्चित गरिनेछ।
पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई सामाना गर्नेछ। अगस्ट २१ मा हुने यो खेल कोभेन्ट्रीको २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमनको पहिलो खेल हुनेछ। मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले गत सिजन २००४ यता पहिलोपटक प्रिमियर लिग उपाधि जितेको थियो।
प्लेअफमार्फत पदोन्नति भएको हल सिटीले अगस्ट २२ मा म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्नेछ भने अर्को नवप्रवेशी इप्सविच टाउनले सोही दिन सन्डरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। पेप ग्वार्डिओलाको युग समाप्त भएपछि म्यानचेस्टर सिटीले नया सिजन अगस्ट २३ मा बर्नमाउथविरुद्ध घरेलु मैदानमा सुरु गर्नेछ।
बर्नमाउथले पनि नयाँ प्रशिक्षक मार्को रोजको नेतृत्वमा मैदानमा उत्रने छ। बर्नमाउथ छाडेर लिभरपुलको प्रशिक्षक बनेका एन्डोनी इराओलाको पहिलो खेल भने न्युक्यासलविरुद्ध हुने छ। जाबी अलोन्सोको नेतृत्वमा नयाँ यात्रा सुरु गर्ने चेल्सीले अगस्ट २४ मा फुलहमसँग प्रतिस्पर्धा गर्नेछ। अमेरिकामा हुने विश्वकप फाइनलको ३४ दिनपछि प्रिमियर लिग सुरु हुनेछ।

