Skip to main content

राति एक्कासि ब्युँझिएपछि पुनः निदाउनका उपायहरू

राति राम्रो निद्रा आइरहँदा अचानक २–३ बजेतिर ब्युँझिएर फेरि निदाउन धेरै प्रयास गर्छौं तर निद्रा फेरि आउँदैन? धेरैले यस अवस्थालाई तनावको कारण ठान्छन् भने कतिपयले गम्भीर स्वास्थ्य समस्या बुझ्ने गर्छन्। यस्तो अचानक ब्युँझिने अवस्था विभिन्न कारणले समस्या देखाउन सक्छ। गहिरो तथा पर्याप्त निद्रा र तनावमुक्त जीवन हाम्रो दैनिक जीवन र स्वास्थ्यका लागि अत्यन्त महत्वपूर्ण हुन्छ।

निद्राको अवस्था एकरुप हुँदैन, यसले विभिन्न चरणहरू जस्तै हल्का निद्रा, गहिरो निद्रा, सतर्कता र आरईएम निद्राको चक्रमा काम गर्छ। हरेक ९० मिनेटमा यी चरणहरू परिवर्तन हुन्छन्। राति पूर्वार्द्धमा गहिरो निद्रा हुन्छ भने बिहानको तिर निद्रा पातलो हुँदै जान्छ। त्यसैले २ देखि ३ बजेको समयमा शरीर हल्का निद्रामा हुँदा स–साना कुराले पनि ब्युँझिन सक्छ। तनाव, हर्मोनमा परिवर्तन, जीवनशैली वा स्वास्थ्य समस्याले निद्रा बाधा पुर्‍याउन सक्छ र पुनः निदाउन कठिनाई हुन्छ।

राति २ देखि ३ बजेतिर ब्युँझिनुको धेरै कारण हुन्छन्। सबैभन्दा महत्वपूर्ण कारण शरीरको जैविक चक्र ‘सर्केडियन रिदम’ हो। यो समयमा शरीर भोलिपल्टको तयारीमा जुट्छ। कोर्टिजोल नामक हर्मोन मानिसलाई ब्युँझाउन सहयोग गर्छ। निद्रा हुँदा यसको स्तर बिस्तारै बढ्छ र सामान्य अवस्थामा थाहा नपाइनेगरी सानो हो। तर तनाव, चिन्ता वा निद्रा गडबडी हुँदा कोर्टिजोलको स्तर अत्यधिक बढ्न सक्छ। यस्तो अवस्थामा यो वृद्धि चेतावनीको रुपमा काम गरी निद्रामा बाधा पुर्‍याउँछ।

विशेषज्ञहरूका अनुसार, निद्राको चक्र मस्तिष्कको सुप्राकियाज्माटिक न्युक्लियस भागले नियन्त्रित गर्छ, जसले दिन-रातको चक्रसंग शरीरका कार्यहरूलाई मेल गर्छ। डा. वर्मा भन्छन्, “हाम्रो निद्राको लहर करिब ९० मिनेटको हुन्छ। राति ढल्कँदै गएसँगै निद्राको प्रकार र गहिराइ परिवर्तन हुन्छ।” साथै निद्रा हर्मोनहरू कोर्टिजोलसँगै अन्य हर्मोनहरूले संयुक्त रूपमा जिम्मेवारी सम्हाल्छन्। मुम्बईको वकहार्ट अस्पतालका कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. प्रशान्त मखिजा भन्छन्, “निद्रा धेरै हर्मोनहरूको सहकार्यमा निर्भर गर्दछ।”

राति निद्राको समस्या रोक्नका लागि विशेषज्ञहरूले केही उपाय सुझाएका छन्। सुत्नुभन्दा १–२ घण्टा अघि सबै स्क्रिन उपकरणबाट टाढा रहनुहोस्, खानपानमा विशेष ध्यान दिनुहोस्, २० मिनेटको नियम पालन गर्नुहोस् र ओछ्यानबाट उठेर गर्ने विधिहरू अपनाउनुहोस्। यी उपायहरूले राम्रो निद्रा सुनिश्चित गर्न सहयोग गर्छन्।