डेनिस उन्डाभका दुई गोलले जर्मनीलाई लगातार दोस्रो जित दिलाउँदै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गराएको छ। जर्मनीले आइभरी कोस्टविरुद्ध २-१ को जित दर्ता गरेको हो। यो जितसँगै जर्मनीले समूह ‘इ’ मा ६ अंक जोड्दै एक खेल अगावै नकआउट चरण सुनिश्चित गरेको छ। खेलको ३०औं मिनेटमा फ्रान्क कसीले आइभरी कोस्टलाई अग्रता दिलाए पनि दोस्रो हाफमा परिवर्तनपछि मैदान पुगेका उन्डाभले दुई गोल फर्काए।
७ असार, काठमाडौं। डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गरी दुई गोल गरेपछि जर्मनीले फिफा विश्वकप २०२६ मा आइभरी कोस्टविरुद्ध २-१ को पुनरागमन जित हासिल गरेको छ। समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोमा भएको खेलमा उन्डाभले इन्जुरी टाइममा निर्णायक गोल गरे। लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भयो। दुई खेलबाट ६ अंकसहित जर्मनी समूह इ मा शीर्ष स्थानमा छ। अब उसको अन्तिम खेल इक्वेडरसँग हुनेछ।
पहिलो खेलमा हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ। उनीहरूले समूहको अन्तिम खेल कुरासाओविरुद्ध खेल्नेछन्। ६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औं मिनेटमा गोल गर्दै खेललाई बराबरीतर्फ ल्याए। खेल बराबरी भएपछि इन्जुरी टाइमको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले विजयी गोल गर्दै जर्मनीलाई लगातार दोस्रो जित दिलाए। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका उन्डाभले पहिलो खेलमा पनि कुरासाओमाथि ७-१ को जितमा गोल गरेका थिए।

