रास्वपा : ‘नीति र नेतृत्व सुधार’ गर्ने भनिएको पहिलो महाधिवेशन आइतबार चितवनमा सुरु हुँदै
स्थापना भएको चार वर्ष भित्रै सहज बहुमतसहित सत्तामा नेतृत्व गर्ने जनमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आज आइतबार चितवनमा सुरु हुँदैछ। आफ्नो सहभागितामा भएको दोस्रो आमनिर्वाचनमा चौथो स्थानबाट पहिलो स्थानमा उठ्न सफल यो दलले आफ्नो पहिलो महाधिवेशनबाट मुख्य एजेन्डाको रूपमा “नीति र नेतृत्व सुधार” गर्ने काम गर्ने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। “नीतिमा पार्टीको संगठनात्मक र वैचारिक प्रतिवेदन प्रस्तुत गरिन्छ। अनुशासन आयोगको प्रतिवेदन र पार्टी सभापतिको राजनीतिक प्रतिवेदनमा छलफल गरी नीति सुधार गर्ने काम हुन्छ,” बुर्लाकोटीले भने। “यसपटक हामीले विधान संशोधन पनि प्रस्ताव गरेका छौं। पार्टी संचालनका लागि निर्देशक दस्तावेज विधानको संशोधनबारे पार्टीकै कार्यदलदेखि सचिवालय, केन्द्रीय समिति हुँदै महाधिवेशनसम्म प्रस्ताव आउनेछ।”
त्यसैगरी तीन दिने महाधिवेशनले पार्टीको “हालको तदर्थ केन्द्रीय समितिबाट निर्वाचित केन्द्रीय समिति गठन गर्ने” पनि महामन्त्री बुर्लाकोटीले बताए। “यो महाधिवेशनपछि पार्टी एउटा तहमा परिपक्व बन्नेछ,” उनले जोड दिए। शनिबार चितवनमा आयोजना गरिएको पार्टीको बैठकमा बोल्दै रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र हुने झगडाले “देशले ठूलो मूल्य तिर्नुपर्ने” बताउँदै सबैले “समझदारीपूर्वक अघि बढ्नुपर्ने” बताए। महाधिवेशनमा लगभग ३ हजार ७ सय प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेले संयुक्त रूपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको नेताहरूले जनाएका छन्।
महाधिवेशनमा प्रस्ताव गरिएको छ कि केन्द्रीय समितिमा १५१ जना निर्वाचित सदस्य हुनेछन् र ७ जना प्रदेश सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्। पार्टी सभापतिले मनोनयन दिने विषयमा विधानमा छलफल भइरहेको हुँदा केन्द्रीय समितिले महाधिवेशनमा पठाएको विषयअनुसार त्यहाँ अन्तिम निर्णय हुने महामन्त्री बुर्लाकोटीले बताए। महाधिवेशनमा दुई चरणको निर्वाचन प्रक्रिया हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरू चयन गर्ने रास्वपाका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। “दोस्रो चरणमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन गरिने व्यवस्था गरिएको छ,” केसीले भने, “दुवै चरणमा सबै प्रतिनिधिहरूले मतदान गर्नेछन्।”
निर्वाचनका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन् र विश्वका विभिन्न मुलुकमा रहेका रास्वपाका प्रतिनिधिहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने सुविधा दिइनेछ, केसीले बताए। “दुवै माध्यमबाट मतदान एकै समयमा सुरु भएर एकै समयमा समाप्त हुनेछ। नतिजा २ देखि ४ घण्टाभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ।” महाधिवेशनको दोस्रो दिनबाट निर्वाचन प्रक्रिया सुरु भएर तेस्रो दिन अर्थात् ९ गते निर्वाचन हुनेछ, उनले जानकारी दिए। रास्वपा सांसद यज्ञमणि न्यौपानेले महाधिवेशनले पार्टीको सबैभन्दा ठूलो दलको रूपमा देशलाई स्पष्ट दिशातर्फ लैजाने बताउनुभयो। “यस महाधिवेशनले बहुलवाद स्वीकार्ने र गणतन्त्रलाई संस्थागत बनाउने दिशामा अघि बढ्नेछ। संघीयतालाई पनि स्वीकृति दिनेछ,” उहाँले महाधिवेशन स्थलमा भन्नुभयो।
धेरैले रास्वपाको उदयलाई सुशासन र भ्रष्टाचार विरोधी भावनाको परिणाम मान्ने गरेका छन्। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरेले महाधिवेशनले दलभित्रै सुशासनको मार्गचित्र प्रस्तुत गर्न आवश्यक रहेको बताए। “विभिन्न अध्ययनहरूले नेपालमा भ्रष्टाचारको जोखिम क्षेत्र र कारण राजनीतिक दलहरू भएको देखाइरहेका छन्। दलहरूसँग यस्ता प्रवृत्तिहरू संरचनागत रूपमा रहेको प्रष्ट हुन्छ,” घिमिरेले भने। “रास्वपाले यो मुद्दालाई अघि सारेको छ। सरकारमाथि मात्र होइन, दलभित्रैबाट आफूलाई सुशासनको स्थानमा उभ्याउनसक्नुपर्ने अवस्था छ।”

