अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा दुई–पटकका विश्वविजेता उरुग्वे र प्रतियोगिताको नवप्रवेशी टोली केप भर्डेबीच खेल हुँदैछ। फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान पौने ४ बजे उरुग्वे र केप भर्डेबीच यो खेल सुरु हुनेछ। नवप्रवेशी केप भर्डेले आफ्नो पहिलो विश्वकप खेलमा बलियो स्पेनलाई गोलरहित बराबरीमा रोक्न सफल भइ उच्च मनोबलका साथ मैदानमा उत्रिने तयारी गरेको छ। साउदी अरेबियासँग पहिलो खेलमा बराबरी खेलेको उरुग्वेले यो खेल जितेर नकआउट चरणमा पुग्ने सम्भावना सुदृढ बनाउन चाहन्छ।
उरुग्वेले साउदी अरेबियाविरुद्ध २७ प्रहार गरेको थियो, जसमा १० प्रहार टार्गेटमा थिए, तर केवल १ गोल गर्न सफल भयो। स्पेनविरुद्ध केप भर्डेले उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै ०–० को बराबरी राख्न सफल रह्यो। यस खेलमा, केप भर्डेले रक्षात्मक खेल्ने रणनीति अपनाउने देखिन्छ। यी दुई टोली पहिलो पटक भिड्ने छन्। केप भर्डेले हालसम्मका तीन खेलमा कुनै पनि गोल खाएको छैन र गोलकिपर भोजिन्हा तथा काउन्टर अट्याकमा घातक बन्न सक्ने रायन मेन्डेस टोलीका मुख्य हतियार हुन्।
उरुग्वेले आफ्ना पछिल्ला ८ मध्ये ७ खेलमा १ वा त्योभन्दा कम गोल गरेको छ। मिडफिल्ड स्टार फेडेरिको भाल्भर्डे र स्ट्राइकर डार्विन नुनेजको प्रदर्शन केप भर्डेका लागि जोखिमपूर्ण हुन सक्छ। केप भर्डेको रक्षा पनि राम्रो संगठित छ र विश्वकप छनोट चरणका १० मध्ये ७ खेलमा ‘क्लिन सिट’ राखेको छ।

