Skip to main content

युवा पुस्ताले परम्परागत बाँसुरी बाजाका संरक्षणमा सक्रियता देखाउँदै

काठमाडौं । नेवार समुदायमा परम्परागत बाँसुरी बजाउने चलन निकै प्रसिद्ध छ। यस परम्परालाई निरन्तर जोगाएर राख्न एक पुस्ताबाट अर्को पुस्तामा सीप हस्तान्तरण गर्न आवश्यक हुन्छ। यसै क्रममा मध्यपुर थिमि–१ लोकन्थलीस्थित सिद्धि गणेश दाफा भजन खलःले बाँसुरी बजाउने तालिम कार्यक्रम आयोजना गरेको थियो। ९ महिनाको तालिमपछि बाँसुरी बाजा बादन तालिमको समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) आयोजना गरिएको छ। तालिम समापन कार्यक्रमको अवसरमा आइतबार बाजासँगै प्रदर्शन गरिएको थियो र नगर परिक्रमा समेत गरिएको थियो। ११ जना प्रशिक्षार्थीहरूले तालिम लिएका थिए, जसमा आठ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिसहरू सहभागी भएका थिए। परम्परागत बाजा सिक्न पाउँदा हामी अत्यन्त उत्साहित छौं भनी तालिममा सहभागी युवाहरुले बताएका छन्।

प्रशिक्षक साहिल द्वारेले भने, ‘हामी युवापुस्ताले संरक्षण नगरेको हो भने कसले गर्ने? नेवारी संस्कृति, बाजा र परम्पराको संरक्षण हाम्रो हातमा छ।’ २३ वर्षीय गुरु द्वारे यस तालिमका प्रशिक्षक हुन्। उनले बताए, ‘मैले जानेको परम्परागत सीप नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले सिकाउँदैछु।’ उनले थपे, ‘युवापुस्ताले संगीतको संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ म केवल नेपाली गीत मात्र नभएर संगीतका थुप्रै पक्षहरू पनि सिकाउँदैछु। राग, सुर, तानपुरा, नोटेशन र बीट कसरी गण्ने भन्ने कुरा पनि सिकाउँदैछु।’ आधुनिक प्रविधिलाई पुरानो संगीतसँग जोडेर सिकाउने प्रयास भइरहेको द्वारेले बताए। ‘बाँसुरी केवल एउटा कला मात्र नभएर जीविकोपार्जनको माध्यम पनि हुनसक्ने भन्दै सिकाइएको हो’ उनले बताए।

नेवारी परम्परामा महत्वपूर्ण मानिने धाः बाजाको पनि प्रशिक्षण दिइरहेको उनले बताए। हाल आठ जनाले धाः बाजा तालिम लिइरहेका छन्। सिक्न इच्छुकलाई मात्र सिकाउने गरिएको र सबैको काम सकिएको बेलुका तालिम गरिने उनले बताए। ‘प्रशिक्षार्थीसँग बसेर बाजा बजाउँदा फरक नै रमाइलो हुन्छ,’ द्वारेले भने, ‘सबै उमेरका मानिसहरु आउँछन्, जसमा प्रत्येकलाई सिकाउँदा फरक-फरक अनुभूति हुन्छ।’ केही समयअघि मात्र नेवार समुदायमा बाजा बजाउने भन्नाले महर्जन अर्थात् ज्यापुहरूलाई बुझिन्थ्यो। तर अहिले यस प्रवृत्तिमा परिवर्तन आएको छ। परम्परागत बाजा सिक्न युवा पुस्ता निकै उत्साहित र आकर्षित भएका छन् भन्दै द्वारेले सुनाए।