Skip to main content

कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले १०औं स्किब्स थ्री बाइ थ्री बास्केटबलमा उपाधि प्राप्त गरे

१०औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले उपाधि जितेका छन्। फाइनलमा कन्स्टिलेसनले स्किब्सलाई, एन्जल्स हार्टले ग्रिनफिल्डलाई र भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमीलाई पराजित गर्‍यो। प्रतियोगितामा कन्स्टिलेसनका रिडम नेपाल, एन्जल्स हार्टका निश्चल घर्ती मगर र भ्याली पब्लिककी सानुमाया तामाङलाई ‘सबैभन्दा मूल्यवान खेलाडी’ घोषित गरिएको छ।

७ असार, काठमाडौं। कन्स्टिलेसन, एन्जल्स हार्ट र भ्याली पब्लिकले १०औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा आइतबार उपाधि जितेका छन्। कन्स्टिलेसन सिनियर ब्वाइज, एन्जल्स हार्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्स समूहका च्याम्पियन बनेका छन्। बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा कन्स्टिलेसनले स्किब्सलाई २१–१८ को नतिजाले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको उपाधि हात पारेको हो।

जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले ग्रिनफिल्डलाई १७–१६ को निकट अन्तरले हराएको थियो। सिनियर गर्ल्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमीसँग १४–११ को जित निकाल्दै उपाधि रक्षा गरेको छ। विजेताहरुले काठमाडौं प्याब्सनका सचिव कृष्ण भण्डारी, प्याब्सनका पूर्व केन्द्रीय सदस्य हरिदास श्रेष्ठ र स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीबाट एक समारोहमा पुरस्कार प्राप्त गरे। दुई दिनसम्म चलेको प्रतियोगितामा सिनियर ब्वाइजमा २४ टोली र जुनियर ब्वाइज तथा गर्ल्समा समान १२-१२ गरी कुल ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए।