आईएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो सांगीतिक दूतको रुपमा नियुक्त गरेको छ। रेमिट्यान्स सेवाको प्रभावकारिता वृद्धि र ग्राहकसँगको सम्बन्ध सुदृढीकरण गर्न कम्पनीले उनलाई समावेश गरेको हो। नवनियुक्त सांगीतिक दूत सपुतले संगीत मार्फत विश्वका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई आफ्नो मातृभूमिसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
७ असार, काठमाडौं। आईएमई लिमिटेडले एक कार्यक्रममार्फत प्रकाश सपुतलाई आफ्नो सांगीतिक एम्बासडरको रूपमा सार्वजनिक गरेको हो। कम्पनीका अनुसार, रेमिट्यान्स सेवाको प्रभावकारिता बढाउँदै ग्राहकसँगको सम्बन्धलाई अझ बलियो बनाउन सपुतलाई सामेल गरिएको हो। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतका कारण सपुत नेपाली समाजमा लोकप्रिय छन्।
विश्वव्यापी श्रम बजारमा रोजगारीको लागि पुगेका नेपालीहरूको भावना सपुतले आफ्ना गीत संगीत मार्फत प्रस्तुत गर्दै आएका छन्। देशको अर्थतन्त्र र समाजको समृद्धि निर्माणमा रेमिट्यान्सको भूमिकालाई जनसमुदायसम्म पुर्याउन सपुतको साझेदारीले थप सहयोग गर्ने आईएमईले विश्वास जगाएको छ। सम्झौता कार्यक्रममा आईएमईका महाप्रबन्धक बद्री कटवालले भने, ‘सपुतको सिर्जनाले समाजको यथार्थ बोली र मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा फरक पहिचान थप्नेछ।’
उनले स्वदेश र विदेशबीचको दूरीलाई कम गर्न संगीत सबैभन्दा प्रभावकारी माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूको लागि एउटा सारथीको भूमिका निर्वाह गर्ने बताउनुभयो। त्यस्तै, गायक सपुतले आईएमईजस्तो प्रतिष्ठित संस्थासँग आबद्ध हुन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताए। उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो मातृभूमिसँग जोडिरहन प्रतिबद्धता जाहेर गर्नुभयो।

