अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा सम्पन्न खेलमा उरुग्वे र केप भर्डेबीच २–२ को बराबरी भएको छ। फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकामा भएको उक्त प्रतिस्पर्धामा दुई पटकको विश्व च्याम्पियन उरुग्वेले नवप्रवेशी टोली केप भर्डेसँग बराबरी खेले।
केप भर्डेले खेलको शुरूमै अग्रता बनायो। २१औं मिनेटमा केभिन पिनाले फ्रीकिकबाट गोल गरेर टोलीलाई ऐतिहासिक अग्रता दिलाए। ४४औं मिनेटमा म्याक्सी अराजोले उरुग्वेका लागि बराबरी गोल गर्दै पहिलो हाफलाई प्रतिस्पर्धात्मक बनाएका थिए। अतिरिक्त समयमा अगस्टिनले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए। तर ६१औं मिनेटमा उरुग्वेका डिफेन्डर र गोलकिपरबीच समन्वयमा कमजोरी देखिएपछि केप भर्डेका हेलियो भारेलाले गोल गरी खेललाई पुनः बराबरीमा ल्याए।
खेलपछि केप भर्डेका प्रशिक्षक बुबिस्ताले टोलीले शुरुदेखि नै साहस देखाएको बताए, “हाम्रो टोलीले शुरूदेखि नै साहस प्रदर्शन गर्यो र सधैं जीत्ने लक्ष्यका साथ अघि बढ्यो। यसले हामीलाई निकै खुसी बनाएको छ,” उनले भने। उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले भने खेलको इन्टेन्सिटी घटेपछि हार नजिक पुगेको संकेत दिए।
यस नतिजासँगै समूह ‘एच’ मा उरुग्वे र केप भर्डेले समान २ खेलबाट समान २ अंक जम्मा गरेका छन्। उक्त समूहमा स्पेन ४ अंकसहित शीर्ष स्थानमा रहेको छ भने साउदी अरेबियाले १ अंक सुरक्षित गरेको छ।

