Skip to main content

एमबाप्पेले १००औँ खेल खेल्दै, फ्रान्सको उद्देश्य नकआउट चरणमा प्रवेश गर्नु

राष्ट्रिय टिमका लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्डधारी केलिएन एमबाप्पेले फ्रान्सको लागि १००औँ अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र इराकबीचको खेलमा कप्तान एमबाप्पेले आफ्नो १००औँ राष्ट्रिय खेल खेल्नेछन्। उनले भनेका छन्, “आफ्नो देशका लागि खेल्न पाउनु सधैं गर्व र खुसीको कुरा हो।” पहिलो खेलमा नर्वेसँग ३-१ ले पराजित इराकले विश्वकप नकआउट चरणमा पुग्न फ्रान्सलाई पराजित गर्नुपर्ने दबाब महसुस गर्दैछ। ८ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत पूर्व उपविजेता फ्रान्सले आफ्नो दोस्रो खेल इराकसँग खेल्न लागेको छ। यो खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ३ बजे फिडाडेल्फिया स्टेडियममा सुरु हुनेछ। फ्रान्स र इराक अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक आमनेसामने हुन लागेका छन्।

फ्रान्सले इराकसँग खेल्दा कप्तान एमबाप्पेले राष्ट्रिय टिमका लागि आफ्नो १००औँ खेल खेल्नेछन्। फ्रान्सको लक्ष्य लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान बनाउनु हुनेछ। पहिलो खेलमा एमबाप्पेका दुई गोलको मद्दतले फ्रान्सले सेनेगललाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरे। सेनेगलविरुद्धका दुई गोलपछि एमबाप्पेले ओलिभर जिरुडलाई पछि पार्दै फ्रान्सका सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए। अब उनले फ्रान्सका लागि १०० खेलको कीर्तिमान पनि पूरा गर्दैछन्।

एमबाप्पेले राष्ट्रिय टिमबाट खेल्नु गर्वको विषय भएकोले कुनै अन्य कुरा ठूलो नरहेको बताएका छन्। उनले विश्वकपमा खेल्नु र ६७ मिलियन फ्रान्सेली जनताको प्रतिनिधित्व गर्नु आफूमाथिको ठूलो जिम्मेवारी भएको बताए। उनले भने, “१०० खेल एउटा ऐतिहासिक संख्या हो र विश्वकप जस्तो ठूलो मञ्चमा यो उपलब्धि पूरा गर्न पाउनु मेरो लागि यो खेललाई अझ महत्वपूर्ण बनाउँछ।” उनले अर्को चरणमा पुग्नको लागि भने यो खेल जित्न आवश्यक रहेको बताए।

इराकले ४२ वर्षपछि विश्वकपमा फर्केको छ र पहिलो खेलमा नर्वेसँग ३-१ ले हार व्यहोरेको थियो। नकआउट चरणमा पर्नको लागि इराकले फ्रान्सलाई परास्त गर्नुपर्ने दबाबमा छ। इतिहासमा केवल दोस्रो पटक विश्वकप भाग लिइरहेको इराकले अहिलेसम्म विश्वकपमा कुनै पनि खेल जित्न सकेको छैन। सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपमा इराक समूहका सबै तीन खेलमा पराजित भएर बाहिरिएको थियो।