फिलिपिन्सको विद्यालयमा गोली प्रहार हुँदा ३ विद्यार्थीको मृत्यु, ७ घाइते
फिलिपिन्सको टाक्लोबानस्थित एउटा विद्यालयमा सोमबार दुई किशोरले गोली चलाउँदा ३ विद्यार्थीको ज्यान गएको छ भने ७ जना घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न १५ र १४ वर्षका दुई किशोरलाई नियन्त्रणमा लिएर हतियार समेत बरामद गरी अनुसन्धान सुरु गरेको छ। शिक्षा मन्त्रालयले उच्च सतर्कता घोषणा गर्दै प्रभावित विद्यार्थी र शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने जनाएको छ।
यो घटना स्थानिय समय अनुसार बिहान करिब ९ बजे लेइते प्रान्तको टाक्लोबान सहरस्थित सान जोसे नेशनल हाईस्कुलमा भएको हो। स्थानीय सञ्चार माध्यमले सार्वजनिक गरेको भिडियोमा विद्यार्थीहरू चिच्याउँदै र रुन थालेका देखिन्छन् भने गोलीको आवाजबीच कक्षाकोठाभित्र लुकी ज्यान जोगाउने प्रयास गरिरहेको दृश्य पनि छ। घटनाको जानकारी पाउँदै सुरक्षाकर्मी विद्यालय पुगेका थिए। घाइतेहरूलाई नजिकै अस्पतालमा उपचारका लागि लगिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार ७ जना घाइते भएका छन् भने तीन जनालाई चिकित्सकहरूले मृत घोषणा गरेका छन्। मृतक र घाइतेहरूको नाम सार्वजनिक गरिएको छैन। टाक्लोबान विद्यालय प्रमुख शेरलिटा पामाले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै तत्काल सहायता उपलब्ध गराइने बताएकी छन्।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ। प्रारम्भिक रूपमा विद्यालयभित्रको दुर्व्यवहार वा व्यक्तिगत रिसाइबी कारण यो घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले ‘रोड’ र ‘न्यास’ उपनामले चिनिएका दुई किशोरलाई नियन्त्रणमा लिएको छ। घटनालाई अत्यन्त दुःखद मानेर टाक्लोबान सिटी प्रहरी प्रमुखले निष्पक्ष अनुसन्धान गरिने बताएका छन्।

