Skip to main content

बर्ड फ्लू नेपाल: १२ वर्षपछि काठमाण्डू उपत्यका फेरि ‘हटस्पट’, चिन्ताजनक अवस्था र बच्ने उपायहरू

गत चैत महिनामा मोरङमा पुष्टि भएयता बर्ड फ्लूबाट नेपालका झण्डै एक दर्जन जिल्ला प्रभावित भइसकेको अधिकारीहरूले बताएका छन्। उनीहरूको अनुसार काठमाण्डू उपत्यका अहिले बर्ड फ्लूका लागि ‘हटस्पट’ बनेको छ। तीन महिनामा देशभर साढे पाँच लाख कुखुरा, १० लाखभन्दा बढी अण्डा र दुई लाख किलोग्रामभन्दा बढी दाना नष्ट भइसकेको पशु सेवा विभागले जानकारी दिएको छ। यसअघि विसं २०७० तिर भक्तपुर जिल्ला बर्ड फ्लू सङ्क्रमणका कारण संकटग्रस्त घोषित गरिएको थियो। यस पटक उपत्यकामा अत्यन्त गम्भीर रूपमा यो सङ्क्रमण देखा परेको अधिकारीहरूले बताएका छन्।

उपत्यकाको ललितपुर जिल्लास्थित जावलाखेलको सदर चिडियाखाना असार ५ गतेदेखि बाहिरी आगन्तुकका लागि बन्द गरिएको छ। वरपर काग र परेवा मरेको भेटिएपछि चिडियाखानाका पन्छीहरूको जेष्ठ ३० गते परीक्षण गरिएको थियो। असार ४ गते बर्ड फ्लू सङ्क्रमण पुष्टि भएको राष्ट्रिय प्रकृति संरक्षण कोषकी प्रवक्ता रचना शाहले जानकारी दिइन्। हालसम्म एउटै लाटोकोसेरो, एउटा गिद्ध, सावरी र स्तनधारी प्रजातिमा ‘जङ्गल क्याट’ र ‘लेपर्ड क्याट’ मरेका छन्।

पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले काठमाण्डू उपत्यकामा बर्ड फ्लूको अवस्था चिन्ताजनक रहेको बताए। “काठमाण्डूमा अझै नियन्त्रण भइसकेको छैन। थप केही दिन लाग्ने देखिएको छ। पछिल्ला दिनहरूमा परीक्षण गरिएका थुप्रै नमुनामध्ये केहीमा मात्र एचफाइभ (H5) भाइरस देखिएको हुनाले अब बिस्तारै नियन्त्रण हुनेछ भन्ने अपेक्षा गरिएको छ,” उनले भने। यसअघि काठमाण्डूमा २०७० सालमा बर्ड फ्लूको ठूलो प्रकोप देखिएको थियो।

नेपालमा यो रोग पहिले झापामा २०६५/६६ सालमा देखियो र त्यसपछि विभिन्न क्षेत्रहरूमा बेलाबेला देखा पर्ने गरेको छ। बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा चरा तथा केही अन्य जनावरहरूमा भाइरसबाट हुने सङ्क्रमण हो। यसको मुख्य कारक H5N1 भाइरस हो। मानिसलाई यसको सङ्क्रमण दुर्लभै हुन्छ।