जापानको टोकियोस्थित शिन-ओकुबोमा नेपाली परम्परागत र आधुनिक पहिरन उपलब्ध गराउने उदेश्यले ‘हाना बुटिक’ सञ्चालनमा आएको छ। जापानमा बसोबास गर्ने नेपालीहरूको संख्या बढ्दै गए संगै विभिन्न प्रकारका नेपाली व्यवसायहरू समेत फस्टाउँदै गइरहेका छन्। यसै सन्दर्भमा, जापानमा रहेका नेपाली समुदायका लागि टोकियोको मुटु शिन-ओकुबो क्षेत्रमा परम्परागत, सांस्कृतिक र आधुनिक पहिरनहरू उपलब्ध गराउने उद्देश्यले ‘हाना बुटिक’ स्थापना गरिएको हो। विदेशमा रहेर पनि नेपालीपन, संस्कृतिलाई आत्मसात गर्न चाहने नेपालीहरूका लागि हाना बुटिक उपयुक्त गन्तव्य बन्ने विश्वास गरिएको छ।
यस क्षेत्रमा नेपाली समुदायको बाक्लो बसोबास र आवतजावत हुने गर्दछ। हाना बुटिकमा प्रिमियम सिंगापुरे शिफन सारी, सिंगापुरे ड्रेसहरू, बेलायतबाट आयात गरिएका गुणस्तरीय स्वेटरहरू, जापानिज र हल्यान्डका लुङ्गीहरूका साथै महिलाहरूका लागि आवश्यक ब्लाउज, कुर्ता–सलवार, लेहेंगा र विभिन्न आकर्षक डिजाइनका पहिरनहरू उपलब्ध छन्। बुटिककी सञ्चालिका मेनुका गुरुङका अनुसार पुरुषहरूका लागि टी-शर्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उच्च गुणस्तरीय कपडा र फेसन एक्सेसरिजहरू पनि उपलब्ध छन्।
बुटिकको अर्को विशेषता भनेको नेपाली जातीय र सांस्कृतिक पहिचान झल्काउने पहिरनहरूको उपलब्धता हो। यहाँ गुरुङ, मगर, राई, लिम्बू लगायत विभिन्न जातीय समुदायका सांस्कृतिक पोशाकहरू, तेह्रथुमे ढाका र अन्य नेपाली ढाका सामग्रीहरू पनि उपलब्ध छन्। ग्राहकहरूको आवश्यकताअनुसार डिजाइनमा सिलाइ सेवा, कुर्ता, लेहेंगा, ब्लाउज र अन्य पहिरनहरूको फिटिङ, साइज घटाउने-बढाउने लगायतका सम्पूर्ण सेवा बुटिकमार्फत प्रदान गरिने गुरुङले बताइन्। तीज, दशैं, तिहार, विवाह, व्रतबन्ध र अन्य सांस्कृतिक एवं पारिवारिक अवसरका लागि आवश्यक पहिरनहरू एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले हाना बुटिक सञ्चालनमा ल्याइएको छ।

