Skip to main content

राजनीतिक विचार र स्वभावले खेलाडीको प्राथमिकता निर्धारण गर्छ

सोसल मिडियामा छोटा भिडियो तथा समाचारहरू बढी हेर्ने उत्तरदाताले क्रिस्टियानो रोनाल्डोलाई प्राथमिकतामा राखेका छन्। सिंगापुरको नान्याङ टेक्नोलोजिकल विश्वविद्यालयको सर्वेक्षणअनुसार लियोनल मेस्सीका समर्थकहरू उदारवादी र रोनाल्डोका समर्थकहरू बढी रूढिवादी विचारका रहेका छन्। अहिले उत्तर अमेरिकामा फुटबलको महामेला चलिरहेको छ– फिफा विश्वकप २०२६। यस अवसरमा विश्वका दुई महान फुटबलरहरू लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो चर्चाको शिखरमा छन्। उमेरले करिब २ वर्षको अन्तरमा रहेका यी फुटबलर सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन्।

सर्वेक्षणमा २६ देशका १०,००० भन्दा बढी उत्तरदाताहरूको अनलाइन सर्वेक्षण गरिएको थियो। मेस्सीका समर्थकहरू प्रगतिशील तथा उदारवादी विचार राख्ने, र रोनाल्डोका समर्थकहरू बढी कट्टर तथा रूढिवादी विचारका हुने निष्कर्ष निकालिएको छ। एनटीयूका एसोसिएट प्रोफेसर सैफुद्दीन अहमदले यस अध्ययनको नेतृत्व गरेका थिए। अध्ययनले देखाउँछ कि युवा उत्तरदातामा यो प्रवृत्ति बढी रहेको छ। ११ देशका उत्तरदाताहरूले औसतमा रोनाल्डोलाई बढी समर्थन देखाए, भने ८ देशका उत्तरदाताले मेस्सीलाई बढी समर्थन गरे।

सैफुद्दीनका अनुसार, मेस्सी र रोनाल्डोले सार्वजनिक रूपमा फरक व्यक्तित्व प्रस्तुत गर्छन्। मेस्सी सामान्यतया शान्त र टोली-केन्द्रित छवि प्रस्तुत गर्छन्, जबकि रोनाल्डो आफ्नो महत्वाकांक्षा खुल्ला रूपमा व्यक्त गर्ने र व्यक्तिगत उपलब्धिमा ध्यान दिनका लागि परिचित छन्। उच्च आत्मसम्मान भएका उत्तरदाताहरूले पनि रोनाल्डोलाई समर्थन गर्ने सम्भावना बढी रहेकाछन् भन्ने अध्ययनले देखाएको छ।

देशअनुसार प्राथमिकतामा मेस्सीले अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, क्यानडा, फिनल्याण्ड, स्पेन, नर्वे र दक्षिण कोरियामा बलियो मूल्यांकन प्राप्त गरे। दक्षिण कोरियाले मेस्सीका लागि सबैभन्दा बलियो प्राथमिकता मूल्यांकन अंक दिएको छ। रोनाल्डोको मूल्यांकन त्यहाँ निकै कम थियो। कोरियाली समर्थकहरूले रोनाल्डोलाई कम मूल्यांकन गर्नुमा २०१९ मा सियोलमा भएको घटना महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानकर्ताहरूको अनुमान छ।

अनुसन्धानकर्ताहरूले देशको फिफा वरीयता र त्यसका उत्तरदाताहरूको समग्र खेलाडी प्राथमिकता बीच कुनै सम्बन्ध भेट्न सकेनन्। राजनीतिक विचारधारा र खेलाडी प्राथमिकता बीचको सम्बन्ध उमेरसँगै किन फरक हुन्छ भन्ने विषयमा थप अनुसन्धान गर्ने योजना बनाइएको छ।