Skip to main content

२८ वर्षपछि विश्वकपमा नकआउट चरण प्रवेश गरेको नर्वे

मंगलबार बिहान न्यूयोर्कको न्यू जर्सी स्टेडियममा भएको खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै २८ वर्षपछि फिफा विश्वकपको नकआउट चरणमा स्थान बनाएको छ। ८ असार, काठमाडौं। सेनेगललाई पराजित गर्दै नर्वेले फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो प्रवेश पक्का गरेको हो। नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई गोल गरे भने मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे। सेनेगलका इस्माइला सारले दुई गोल गरे पनि हार टार्न सकेनन्।

खेलको ४३ औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाए। त्यसपछि नर्वेका एर्लिङ हाल्यान्डले ४८ औं मिनेटमा गोल गरी टोलीलाई दुई गोलको अग्रता दिलाए। ५३ औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई पुनः खेलमा फर्काउने प्रयास गरे। तर ५८ औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रतालाई ३–१ बनाइदिए। दोस्रो हाफको इन्जुरी समयमा इस्माइला सारले व्यक्तिगत दोस्रो गोल गरे पनि सेनेगललाई जित दिलाउन भने असफल भए।

२८ वर्षपछि विश्वकप खेलिरहेको नर्वे एक खेलअघि नै नकआउट चरणमा प्रवेश गर्न सफल भयो। नर्वेले पछिल्लो पल्ट सन् १९९८ मा भएको विश्वकपमा भाग लिएको थियो र त्यसयता छनोट गर्न सकेको थिएन। जितसँगै नर्वे अहिले ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ। समान ६ अंक भएका फ्रान्स गोलअन्तरमा अघि छन्। नर्वे र फ्रान्स दुवैले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् भने दुवै खेलमा पराजित सेनेगल र इराक भने अंकविहीन छन्।