फाइल तस्वीर: युक्रेनको ड्रोन आक्रमणमा एक किशोरसहित १८ जना घाइते भएका छन्। डोनेट्स्क पिपुल्स रिपब्लिक (डीपीआर) का प्रमुख डेनिस पुसिलिनले सामाजिक सञ्जालमार्फत् यस सम्बन्धमा जानकारी दिएका छन्। युक्रेनले गोरलोभकामा यात्रुवाहक बसमा आक्रमण गरेको थियो। उक्त आक्रमणमा सन् २००८ मा जन्मिएका एक किशोर पनि घाइते भएका छन्। साथै, तीन जना पुरुष र ११ जना महिला पनि घाइते भएका छन्।
रात्रीकालीन ड्रोन हमलामा लागेको आगो निभाउने क्रममा एक जना उद्धारकर्मी घाइते भएका छन्। घाइते उक्त उद्धारकर्मी रुसी आपतकालीन मन्त्रालयका कर्मचारी हुन्। गोरलोभकाको मध्यभागमा अन्य दुई जना पुरुष पनि घाइते भएका छन्।
यस आक्रमणले चारवटा नागरिक पूर्वाधार संरचनामा समेत क्षति पुर्याएको छ। पुसिलिनका अनुसार गोरलोभका र यासिनोभातायामा एउटा बस, उद्धारकर्मीका गाडीहरू र ट्रकहरूमा समेत क्षति पुगेको छ।

