एफएटीएफ: नेपाल ‘ग्रे लिस्ट’बाट उम्किन विफल, सम्पत्ति शुद्धीकरणबारे बुझाइ सुधार्ने सुझाव
नयाँ सरकारको अपेक्षाविपरीत नेपाल सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानीका विषयको अन्तर्राष्ट्रिय सूक्ष्म निगरानी सूचीबाट उम्किन विफल भएको छ। सो निकायले देशमा ती विषयबारे बुझाइको कमीलाई प्रमुख कारणका रूपमा पेस गरेको छ। वालेंद्र शाह ‘बालेन’को नेतृत्वमा बनेको सरकारको दुई महिना नबित्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी एशिया प्यासिफिक ग्रूप (एपीजी)का प्रतिनिधिमण्डलले भ्रमण गरेर अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललगायत उच्च पदाधिकारीहरूसँग छलफल गरेका थिए। एपीजी अन्तर्राष्ट्रिय वित्तीय निगरानी गर्ने निकाय फाइनान्शल एक्शन टास्क फोर्स (एफएटीएफ)को एशिया-प्रशान्त क्षेत्रीय निकाय हो।
उक्त प्रतिनिधिमण्डल फर्किएको एक महिनापश्चात् फ्रान्सको राजधानी प्यारिसमा बसेको एफएटीएफको बैठकले छवटा कारण देखाउँदै नेपाललाई सूक्ष्म निगरानी सूची (ग्रे लिस्ट)मा निरन्तर राख्ने निर्णय गरेको छ। जुन १९ मा बसेको बैठकमा एफएटीएफले नेपालको सन्दर्भमा सम्पत्ति शुद्धीकरण, आतङ्ककारी क्रियाकलाप एवं आमविनाशका हतियार प्रसारमा वित्तीय लगानीजस्ता विषयविरुद्ध लड्न विद्यमान “रणनीतिक कमी”लाई सम्बोधन गर्न छथरी सुझाव दिएको छ। यसबारे भूतपूर्व कानुनसचिव तथा एफएटीएफ मामिलाका जानकार फणीन्द्र गौतमले भने, “सम्पत्ति शुद्धीकरणका जोखिम कहाँ कहाँ र कस्ता कस्ता छन् भनेर पूर्ण रूपमा बुझ्न नसकिएको देखाउँछ।”
एफएटीएफले औँल्याएको दोस्रो कारणमा वाणिज्य बैंक, उच्च जोखिमयुक्त सहकारी, कसीनो (जुवाघर), घरजग्गाजस्ता क्षेत्रमा जोखिममा आधारित सुपरीवेक्षणमा सुधारको आवश्यकता रहेको छ। थापाका अनुसार विगतमा उक्त निकायले दिएका ११ वटा सुझावमा चार वटा मात्र कार्यान्वयन हुन सकेका थिए। यसपालि उसले दिएका सुझाव लागु हुन नसकेका सोही बुँदासँग सम्बन्धित रहेको उनले बताए। यसअघि नेपाल २००९ देखि २०१४ सम्म उक्त सूचीमा परेको थियो।
अहिले फेब्रुअरी २०२५ देखि नेपाल फेरि उक्त सूचीमा परेको छ। यसले नेपाललाई १६-बुँदे कार्ययोजना पेस गर्न समयसीमा दिएको छ। थापाले भने, “दुई वर्षमा गर्ने भनेर नेपालले दिएको कार्ययोजना लागु गर्न अब केवल आठ महिनाजति बाँकी होला।” यसैले सुशासनलाई प्राथमिकता दिएको नयाँ सरकारले ती काम गर्न सक्यो भने सो अवधिमा नेपाल सूचीबाट बाहिरिन सक्ने अपेक्षा गर्न सकिन्छ।

