युरोपमा अत्यधिक गर्मी : फ्रान्समा पौडी खेल्दा कम्तिमा ४० जनाको डुबेर मृत्यु
९ असार, काठमाडौं। फ्रान्स र युरोपका अन्य भागहरूमा जारी अत्यधिक गर्मीले (हिटवेभ) असुरक्षित क्षेत्रमा पौडी खेल्दा फ्रान्समा कम्तिमा ४० जनाको डुबेर ज्यान गएको छ। फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले मंगलबार सम्पन्न संकटकालीन बैठकपछि जारी वक्तव्यमा गत बिहीबारदेखि मृत्यु हुनेहरूमा धेरैजसो युवाहरू रहेको बताएका छन्। देशका अधिकांश भागहरूमा तापक्रम करिब ४० डिग्री सेल्सियस पुग्ने अनुमान गरिएसँगै उनीहरूले यस घटनालाई ‘दुःखद त्रासदी’को रूपमा वर्णन गरेका छन्।
खेलकुद मन्त्री मारिना फेरारीले पनि हिटवेभको समयमा अनाधिकृत क्षेत्रमा पौडी खेल्न जानुलाई खेलकुदको रूपमा लिन नहुने बताएकी छन्। त्यस्तै, दक्षिणपूर्वी फ्रान्सको कार्पेन्ट्रसमा आफ्नै घरबाहिर कारभित्र बेहोस अवस्थामा फेला परेका दुई र चार वर्षका दुई बालबालिकाको मृत्युको मुख्य कारण पनि हिटवेभ नै रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।
बोर्डो क्षेत्रमा गर्मीका कारण स्वास्थ्यमा समस्या आएपछि ८० देखि ९५ वर्षको उमेर समूहका थप तीन जनाको मृत्यु भएको छ। फ्रान्सको मौसम पूर्वानुमान एजेन्सी ‘मेतियो–फ्रान्स’का अनुसार सन् १९४७ देखि रेकर्ड राख्न थालिएको अवधिमा सोमबारदेखि मंगलबारसम्मको रात देशकै सबैभन्दा तातो रात साबित भएको छ। फ्रान्सका ३० वटा मौसम स्टेशनहरूको औसत तापक्रम मंगलबार बिहान २१.६ डिग्री सेल्सियस पुगेको छ। यसअघि सन् २०१९ को जुलाई २५ मा २१.४ डिग्री सेल्सियस तापक्रमको रेकर्ड थियो।
यो हिटवेभले बोर्डो र पोइटियर्स लगायतका धेरै शहरहरूमा तापक्रमको रेकर्ड भत्काएको छ भने पावर ग्रिड र सार्वजनिक सेवामा पनि दबाब बढाएको छ। व्यापक रूपमा एयर कन्डिसनिङ सुविधा नभएका फ्रान्सका ५४ क्षेत्रहरूमा रेड अलर्ट जारी गरिएको छ र विद्यार्थीहरूलाई जोगाउन विद्यालयहरू चाँडै बन्द वा समय तालिका परिवर्तन गरिएको छ। युरोपका अन्य क्षेत्रहरूमा पनि अत्यधिक गर्मी देखिएको छ। बेलायतको मौसम विज्ञान कार्यालयले चार दिने हिटवे भका कारण देशका केही भागमा तापक्रम ३९ डिग्री सेल्सियस नाघ्न सक्ने चेतावनी दिएको छ। यसले सन् १९५७ र १९७६ को जुन महिनामा कायम भएको ३५.६ डिग्री सेल्सियसको रेकर्ड सजिलै तोड्नेछ।

