Skip to main content

स्ट्रेट अफ होर्मुजमा फसेका ११ हजार नाविकको उद्धार प्रक्रिया सुरु

१० असार, काठमाडौं । संयुक्त राष्ट्र संघको समुद्री निकाय इन्टरनेशनल मेरिटाइम अर्गनाइजेसन (आईएमओ)ले स्ट्रेट अफ होर्मुज समुद्री क्षेत्रमा फसेका करिब ११ हजार सीफेयरर्स अर्थात् नाविकहरूलाई सुरक्षित रूपमा उद्धार गर्ने काम सुरु गरिएको जनाएको छ। यो ठूलो अभियान अमेरिका, इरान, खाडी क्षेत्रका तटीय देशहरू र शिपिङ कम्पनीहरूको सहयोगमा सञ्चालन गरिनेछ। यस क्रममा जहाजहरूले स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट सुरक्षित रूपमा आवतजावत गर्न सक्ने सुनिश्चितता पनि गरिनेछ।

कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्वीट्जरल्यान्डमा अन्तरिम शान्ति सम्झौतामा सहमति जुटेपछि स्ट्रेट अफ होर्मुजको बाटो खुला भएको छ। स्वीट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउनुका साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ। अमेरिकाका यी निर्णयबाट दुई देशबीचको तनाव केही कम भएको संकेत देखिएको छ।

अमेरिकी विदेशमन्त्री खाडी देशको भ्रमणमा यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियो खाडी देशहरूको भ्रमणमा पुगेका छन्। अमेरिका–इरान सम्झौता कार्यान्वयन हुनेमा शंका व्यक्त गरिरहेका देशहरुलाई स्पष्ट पार्ने उद्देश्यले उनी खाडी देशहरुको भ्रमणमा गएका हुन्। रिपोर्टअनुसार यूएई, बहराइन र कुवेतलाई उक्त सम्झौताका केही बुँदामा चिन्ता छ। सम्झौताले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानको प्रभाव अझ बढाउन सक्ने आशंका व्यक्त गरिएका छन्।

साथै, सम्झौतामा इरानको मिसाइल कार्यक्रमबारे कुनै स्पष्ट शर्त नराखिएकोमा पनि उनीहरूको चासो छ। यसका साथै इरानको पुनर्निर्माणका लागि प्रस्ताव गरिएको ३०० अर्ब अमेरिकी डलर (करिब २८ लाख करोड रुपैयाँ) को कोषमा खाडी देशहरूको सहयोग मागिने सम्भावना रहेको छ। यस्तो अवस्थामा अमेरिका ती देशहरूलाई विश्वास दिलाउन र सम्झौताको समर्थनमा सहमत गराउन प्रयासरत छ।