अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको भित्री भागका चट्टानहरू फेला पार्ने सम्भावना
१० असार, काठमाडौं । चन्द्रमामा प्राचीन समयमा भएको एक विशाल ठोक्काभेटका कारण भित्री भागमा रहेका महत्वपूर्ण चट्टानहरू सतहमा फैलिएका छन् भन्ने नयाँ अनुसन्धानले देखाएको छ। वैज्ञानिकहरूले बताउँछन् कि ती चट्टानहरू भविष्यमा जाने आर्टेमिस मिशनका अन्तरिक्ष यात्रीहरूले अवतरण गर्ने स्थानको नजीकै फेला पार्न सक्छन्। साउथवेस्ट रिसर्च इन्स्टिच्युटले सञ्चालन गरेको वैज्ञानिक टोलीले चन्द्रमाको सबैभन्दा ठूलो र पुरानो क्रेटर ‘साउथ पोल–एटकेन (एसपीए) बेसिन’ को निर्माण प्रक्रियाको अध्ययन गर्दा यो तथ्य पत्ता लगाएको हो।
कम्प्युटर सिमुलेसनअनुसार, फलामको कोर भएको ठूलो वस्तुले कम कोणबाट चन्द्रमामा ठोकेको बेला भित्रको म्यान्टलमा रहेका चट्टानहरू सतहमा उछिट्टिएका थिए। यो अनुसन्धान नासाको सोलर सिस्टेम एक्सप्लोरेसन रिसर्च भर्चुअल इन्स्टिच्युट अन्तर्गतको ‘सेन्टर फर लुनर ओरिजिन एन्ड इभोलुसन’ (सीएलओई) का अनुसन्धानकर्ताहरूले गरेका हुन्। चन्द्रमाको दक्षिणी भागमा रहेको साउथ पोल–एटकेन बेसिन सौर्यमण्डलकै सबैभन्दा पुरानामध्येको संरचना हो।
सीएलओईका निर्देशक डा. विलियम बोटकेका अनुसार, यो ठोक्काइ यति शक्तिशाली थियो कि यसले चन्द्रमाको गहिरो भूभागमा रहेका म्यान्टलका चट्टानहरूलाई सतहमा ल्याएको थियो। सिमुलेसनले देखाएको विवरण अनुसार उक्त वस्तु उत्तरतर्फबाट दक्षिणतर्फ तर्फ गतिमा चन्द्रमाको सतहमा ठोकेको थियो जसका कारण उक्त बेसिन लाम्चो आकारमा बनेको हो। अध्ययनले देखाउँछ कि त्यो ठोक्किने वस्तु साधारण ढुंगा नभई सानो प्रोटोप्लानेट वा क्षुद्रग्रह जस्तो फलामको कोर भएको वस्तु थियो।
यस ठोक्काइले विशाल खाल्डो मात्र होइन अत्यधिक ताप उत्पन्न गराएर आसपासका चट्टानहरूलाई पगाल्न समेत सक्षम भयो। यस प्रक्रियामा क्रस्ट (माथिल्लो तह) र म्यान्टल (भित्री तह) का ठूलो परिमाणमा पदार्थ अन्तरिक्षमा उछिट्टिएका थिए र धेरैजसो ती पदार्थ बादमा सोही बेसिनको वरिपरि जम्मा भएका थिए। युनिभर्सिटी अफ एरिजोना का डा. गेब्रियल गोम्यान नेतृत्वको अर्को गुरुत्वाकर्षण आधारित अध्ययनले पनि सो क्षेत्रमा म्यान्टलबाट आएको ठूलो संख्यामा चट्टानहरूको मिश्रण भएको पुष्टि गरेको छ।
पहिले सोचेअनुसार चन्द्रमाको गहिरो भागबाट निस्किएका यी चट्टानहरू दक्षिण ध्रुव भन्दा धेरै टाढा क्षेत्रहरूमा मात्र सीमित रहेको ठानेका थिए। तर नयाँ सिमुलेसन र गुरुत्वाकर्षण विश्लेषणले आर्टेमिस मिशनका अन्तरिक्ष यात्रीहरूले पुग्ने दक्षिण ध्रुवीय क्षेत्रमा नै त्यस्ता दुर्लभ चट्टानहरू फैलिएका देखाएका छन्। वैज्ञानिकहरूको भनाइ अनुसार पछिका साना ठोक्काहरूले ती पुरिएका चट्टानहरूलाई सतहमा ल्याउन सहयोग गरेका छन्। यस खोजले आर्टेमिस मिशनका अन्तरिक्ष यात्री र रोबोटिक मिशनहरूका लागि नयाँ अवतरण स्थल निर्धारणमा महत्वपूर्ण योगदान गर्नेछ र चन्द्रमाको उत्पत्ति तथा विकासका रहस्यहरू बुझ्न नयाँ मार्ग खोल्नेछ।

