ट्रम्पले क्यालिफोर्नियाको चुनाव अनुसन्धानका लागि फोन गरेको स्वीकार
१० असार, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाको प्राइमरी निर्वाचन नतिजाको अनुसन्धानका लागि त्यहाँका संघीय अभियोजकलाई फोन गरेको कुरा स्वीकार गरेका छन्। उनले मंगलबार पेन्सिलभेनियामा आयोजित र्यालिमा बोल्दै आफूले हस्तक्षेप गरेको कारण रिपब्लिकन उम्मेदवार स्टिभ हिल्टन गभर्नर पदको दोस्रो चरण (रनअफ) मा छनोट भएको दाबी प्रमाण बिना गरेका छन्। क्यालिफोर्नियाको चुनावी परिणामले डेमोक्र्याट उम्मेदवार जेभियर बेसेरालाई नोभेम्बरमा हुने मुख्य चुनावका लागि पहिलो स्थानमा सुरक्षित गरिसकेको थियो भने ट्रम्प समर्थित हिल्टनको नतिजा केही दिनपछि मात्र सार्वजनिक भएको थियो।
राष्ट्रपति ट्रम्पले र्यालिमा आफूले क्यालिफोर्नियाका यूएस अटर्नीलाई फोन गरेर सो विषयमा अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्। उनले फक्स न्युजका पूर्व प्रस्तोता समेत रहेका हिल्टनको जितको श्रेय आफूले लिएको र ती वकिलले कुनै अज्ञात व्यक्तिलाई फोन गरेपछि मात्र हिल्टन दोस्रो चरणमा पुग्न सफल भएको दाबी गरेका छन्। आफ्नो फोन कलको करिब एक घण्टा पछि हिल्टनले चुनाव जितेको भन्दै ट्रम्पले भने, यदि आफूले फोन नगरेको भए हिल्टनले घरमै बसेर चुनाव हेरिरहनु पर्ने स्थिति आउँथ्यो।
ट्रम्पले कुन वकिललाई फोन गरेका थिए भन्ने कुरा स्पष्ट नभए पनि लस एन्जलसमा रहेको सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका उच्च अधिकारी एवं फर्स्ट असिस्टेन्ट यूएस अटर्नी बिल एसेलीले यसै महिनाको सुरुमा चुनावी धाँधलीका दाबीहरूमाथि अनुसन्धान सुरु गरेको घोषणा गरिसकेको छन्। राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाको गभर्नर पदको निर्वाचन ‘सेटिङ’ गरिएको भनी लगाएका निराधार आरोप भन्दा केही अघि लस एन्जलसको मेयर पदको चुनावबारे पनि यस्तै टिप्पणी गरेका थिए। मेयरको चुनावमा डेमोक्र्याटहरूको बाहुल्यता रहेको सहरमा रिपब्लिकन उम्मेदवार स्पेन्सर प्र्याट नोभेम्बरको रनअफमा पुग्न असफल भएपछि राज्यले उनलाई अन्याय गरेको ट्रम्पले बताएका थिए। अर्कोतर्फ गभर्नरका उम्मेदवार हिल्टनले पटक–पटक स्पष्ट पारेका छन् कि उनले चुनावमा धोकेबाजी भएको कुनै प्रमाण देखेका छैनन्। हिल्टनले सीएनएनसँगको अन्तर्वार्तामा आफ्ना चुनावी टोली र वकिलहरू तयारी अवस्थामा भए पनि राज्यको निर्वाचन प्रणालीको निष्पक्षतामा शङ्का गरिरहनुपर्ने कुनै आधार आफूमा नदेखेको बताएका छन्। यस विषयमा अभियोजक एसेली र हिल्टनका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

