Skip to main content

मेक्सिकोलाई क्लिन स्विपको अवसर, अन्य तीन टोलीलाई ‘गर या मर’ को दबाब

मेक्सिकोले एक खेल अगाडि नै नकआउट चरणमा स्थान सुरक्षित गर्दा चेक रिपब्लिक, दक्षिण कोरिया र दक्षिण अफ्रिका नकआउट प्रतियोगितामा छन्। सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेल घरेलु मैदानमा चेक रिपब्लिकसँग खेल्ने छ। समूह ‘ए’ को विजेता बनेर नकआउट चरणमा प्रवेश गरिसकेको मेक्सिको र नकआउटको सम्भावना कायमै रहेको चेक रिपब्लिकबीचको खेल मेक्सिको सिटी स्टेडियममा बिहीबार बिहान पौने सात बजेबाट सुरु हुनेछ। सोही समयमा मोन्टेरी स्टेडियममा दक्षिण अफ्रिका र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘ए’ मा मेक्सिकोले शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा कायम छ। दक्षिण कोरिया ३ अंकसहित दोस्रो स्थानमा छ भने चेक रिपब्लिक र दक्षिण अफ्रिकाले समान १–१ अंक बाँडेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली सिधै नकआउट चरणमा प्रवेश गर्नेछन्। १२ समूहका तेस्रो स्थानमा रहेका उत्कृष्ट ८ टोली पनि नकआउट चरणमा प्रवेश गर्नेछन्। यसरी मेक्सिकोले अघि नै नकआउट चरणको टिकट पक्का गर्दा चेक रिपब्लिक, दक्षिण कोरिया र दक्षिण अफ्रिका नकआउटको दौडमा छन्।

चेक रिपब्लिकले मेक्सिकोलाई पराजित गरेर नकआउट चरणमा पुग्ने प्रयास गरिरहेको छ। दक्षिण कोरियासँग २–१ को हार र दक्षिण अफ्रिकासँग १–१ बराबरी खेलेको चेक रिपब्लिकलाई नकआउट चरणमा प्रबेश गर्न मेक्सिकोमाथि जित निकाल्नै पर्नेछ। त्यो पनि पर्याप्त छैन, समूहको अर्को खेलको नतिजामा पनि निर्भर हुनुपर्नेछ।

दक्षिण अफ्रिका र दक्षिण कोरिया फिफा विश्वकपको इतिहासमा पहिलोपटक एकअर्कासँग भिड्ने छन्। १६ वर्षपछि विश्वकपमा फर्केका दक्षिण अफ्रिका पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा मोरक्कोसँग २–० ले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा चेक रिपब्लिकसँग १–१ को बराबरी खेलेको थियो। यस खेलमा दक्षिण कोरियालाई फराकिलो अन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ।