युक्रेनी ड्रोन हमला पश्चात् मस्कोको तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिना बन्द रहने
११ असार, काठमाडौं । युक्रेनले निरन्तर गरिरहेको ड्रोन आक्रमणका कारण मस्कोको दक्षिण भागमा रहेको एक ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनासम्म बन्द हुने भएको छ। गाजप्रोम नेफ्टद्वारा सञ्चालित सो प्रशोधन केन्द्रमा पहिलो पटक जुन १६ मा हमला भएको थियो, जसले रिफाइनरीको ५३ प्रतिशत क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुर्याएको थियो। त्यसपछि जुन १८ मा भएको दोस्रो आक्रमणले बाँकी ४७ प्रतिशत क्षमता ओगट्ने आधुनिक ‘युरो प्लस’ युनिटमा पनि क्षति पु¥याएको बताइएको छ। यसबारे परिचित औद्योगिक स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले बुधबार प्रतिवेदन सार्वजनिक गरेको छ।
मस्को रिफाइनरीमा भएको क्षतिको मर्मतका लागि कम्तीमा आधा वर्ष लाग्ने उद्योगसम्बन्धित स्रोतले जानकारी दिएका छन्। रोयटर्सका अनुसार, यस प्रशोधन केन्द्रले सन् २०२४मा ११.६ मिलियन मेट्रिक टन कच्चा तेल प्रशोधन गरी २.९ मिलियन टन पेट्रोल र ३.२ मिलियन टन डिजेल उत्पादन गरेको थियो। गाजप्रोम नेफ्टले सञ्चालित यस केन्द्रमा भएको क्षतिबारे रूसी अधिकारीहरूले अहिलेसम्म सार्वजनिक टिप्पणी गरेका छैनन्। युक्रेनले यसै वर्ष वसन्त ऋतुबाटै रूसी तेल प्रशोधन केन्द्रहरू र आपूर्ति शृङ्खलामाथि आक्रमण तीव्र पारेको छ।
ड्रोन आक्रमणले रूसको पेट्रोल उत्पादनमा ठूलो हिस्सा ओगट्ने केन्द्रहरूको उत्पादन ठप्प वा न्यून भएको छ, जसले गर्दा कतिपय क्षेत्रमा इन्धनको राशनिङ गर्नुपरेको छ। यस वर्षको सुरुवातदेखि रूसमा पेट्रोलको औसत मूल्य ६.६ प्रतिशतले वृद्धि भइसकेको छ। जुन १५ सम्मको तथ्यांक अनुसार एक हप्तामा मूल्यवृद्धि हुँदा राष्ट्रिय औसत मूल्य ६९.११ रुबल प्रति लिटर पुगेको थियो। उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले मंगलबार आन्तरिक इन्धन बजारको स्थिति ‘चुनौतीपूर्ण तर नियन्त्रणमा’ रहेको बताएका छन्। उनले पेट्रोल र जेट इन्धनको निर्यातमा पहिलेदेखि कायम प्रतिबन्धका साथै अब डिजेल निर्यातमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा चर्चा भइरहेको उल्लेख गरेका छन्।

