Skip to main content

भेनेजुएलामा शक्तिशाली भूकम्पको श्रृंखला, आपतकाल घोषणा

भेनेजुएलामा छोटो समयमा दुई शक्तिशाली भूकम्पले धेरै भवन भत्किएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्पको म्याग्निट्यूड ७.२ र दोस्रो भूकम्पको ७.५ नापेको छ। पहिलो झट्का पछि ३९ सेकेन्डमै दोस्रो झटका आएको थियो जुन अझ शक्तिशाली भयो। राजधानी कराकसको पश्चिमी भागमा स्थानीय समय अनुसार साँझ ६ बजेपछि यी भूकम्पहरू भएसँगै मानिसहरू घर बाहिर निस्किएका थिए।

अधिकारीहरूले भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिका बारे थप जानकारी संकलन गरिरहेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पपछि आपतकाल घोषणा गरेकी छन्। राष्ट्रपति रोड्रिगेजले भूकम्पले ठूलो क्षति पुर्‍याएको भन्दै देशको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको जानकारी दिएकी छन्।

पहिले विमानस्थलबाट धुलो उडिरहेको र मानिसहरू भाग्दै गरेको दृश्यहरू सार्वजनिक भएका थिए। राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेपछि डेल्सी रोड्रिगेजले देशको नेतृत्व गरिरहेकी छन्। भूकम्पले ठूलो मानवीय र आर्थिक क्षति भएको अनुमान गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले मृतक संख्याको संभावना १०,००० भन्दा बढी पुग्ने ४४ प्रतिशत रहेको जनाएको छ।

भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा थियो, जसका कारण धेरै मानिस घरमै भएका हुन सक्ने अनुमान गरिएको छ। अधिकारीहरूले भूकम्पका कारण विद्युत र इन्टरनेट सेवा प्रभावित भएको बताएका छन्। साथै, यो भूकम्पको झटका छिमेकी कोलम्बियाको राजधानीसम्म पनि महसुस भएको छ।