Skip to main content

छथर गाउँपालिकाले ४७ करोड २७ लाख ९९ हजारको बजेट सार्वजनिक गर्यो

११ असार, तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभा तथा १७औं अधिवेशन मार्फत प्रस्तुत बजेटले सडक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ। छथर गाउँपालिका–३ पञ्चकन्या स्थित ऐतिहासिक तथा पर्यटकीय स्थल ५२ ढोके/बराह मन्दिर/योमुई चाङखासिङ गढीमा बुधबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका हुन्।

गाउँपालिकाका अनुसार कुल बजेटमध्ये संघीय सरकारबाट ४२ करोड ३९ लाख ३ हजार रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ९६ लाख ६ सय ४३ रुपैयाँ तथा स्थानीय स्रोतबाट १ करोड रुपैयाँ व्यवस्थापन गरिएको छ। अध्यक्ष लिम्बुले प्रस्तुत गरेको बजेटले स्थानीय आवश्यकता, जनअपेक्षा तथा दिगो विकासका लक्ष्यलाई केन्द्रमा राख्दै समृद्ध र आत्मनिर्भर छथर निर्माणको आधार तयार गर्ने विश्वास व्यक्त गरे। बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ। विशेष गरी शुक्रबारे–फाक्चमारा–पञ्चकन्या–हाक्पारा–तमोर करिडोर जोड्ने सडकको स्तरोन्नति तथा कालोपत्रे कार्यक्रमलाई प्रमुख योजनाका रूपमा अघि सारिएको छ।

साथै अन्तरपालिका तथा वडा जोड्ने सडक सञ्जाल विस्तार, बाह्रै महिना सञ्चालन हुन सक्ने सडक निर्माण, पुल तथा अन्य सार्वजनिक पूर्वाधार विकासका कार्यक्रमहरुलाई समेत समेटिएको छ। कृषि तथा पशुपालन क्षेत्रको व्यवसायीकरण, उत्पादन वृद्धि, कृषकको आयआर्जन अभिवृद्धि र स्थानीय उत्पादनको बजारीकरणलाई बजेटले विशेष महत्व दिएको छ। पर्यटन प्रवर्द्धन, सहकारी क्षेत्रको सुदृढीकरण तथा रोजगारीका अवसर विस्तारमार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य पनि राखिएको छ। स्वास्थ्यतर्फ स्वास्थ्य संस्थाको स्तरोन्नति, समुदायमा आधारित स्वास्थ्य सेवा विस्तार तथा सहज र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने कार्यक्रम समावेश गरिएको छ। शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन, प्राविधिक तथा उच्च शिक्षामा पहुँच विस्तार र खेलकुद विकासमार्फत दक्ष जनशक्ति उत्पादनमा जोड दिइएको छ।