विश्व फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्बन गरेको वेबसाइटमार्फत् सार्वजनिक गरेको छ। फिफा विधानको धारा १४ को उपधारा १(आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विधानको गम्भीर उल्लङ्घन पाइएको कारण एन्फालाई तत्काल प्रभावमा निलम्बन गर्ने निर्णय फिफा काउन्सिलको ब्यूरोले गरेको हो।
पहिले पटक पटक एन्फामा देखा परिरहेका समस्याहरूमाथि चेतावनी दिइए तापनि यसअघि निलम्बन गरिएको थिएन। एन्फा पदाधिकारीहरूबीच भित्रभित्रै सृजित विवाद पछि ‘अर्लि इलेक्शन’ प्रक्रिया पछि विवाद तीव्र बनेको थियो। जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालको कानुनअनुसार भएको नभएको आरोप लगाउँदै चैत्र ११ गते एन्फालाई तीन महिनाको लागि निलम्बन गरेको थियो।
राखेपले केही समयपछि निलम्बन फुकुवा गरे तापनि एन्फा पदाधिकारीहरूलाई अध्यागमन विभागको कालो सूचीबाट हटाएको थिएन। एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राई फिफा विश्वकप २०२६ को उद्घाटन खेल हेर्न मेक्सिको जाँदा अध्यागमन विभागबाट फर्काइएपछि यसलाई फिफाले गम्भीर रुपमा लिएको हो।
एन्फाले राखेपको हस्तक्षेपलाई तेस्रो पक्षको हस्तक्षेप मानेर नेपाल निलम्बनमा पर्न सक्ने चेतावनी दिएको थियो। राखेप र फिफाबीच विवाद समाधानका लागि छलफल भएको थियो र राखेपले फिफा प्रतिनिधिलाई नेपालमै वार्ता गर्न निम्तो पनि दिएको थियो। तर विमानस्थलबाटै एन्फा अध्यक्ष र महासचिवलाई फर्काइएको घटनालाई फिफाले तेस्रो पक्षको हस्तक्षेप मानेको बुझिन्छ।
एन्फाको चार वर्षे कार्यकाल यही असार ६ गते सकिएको थियो। एन्फा निलम्बित भएपछि नेपाली फुटबलमा गम्भीर असर पर्नेछ। अब नेपालको राष्ट्रिय पुरुष, महिला वा उमेर समूहका टोलीले फिफा वा एएफसी अन्तर्गत कुनै प्रतियोगिता खेल्न पाउने छैनन्। त्यस्तै, क्लबहरूले पनि एएफसी च्याम्पियन्स लिग लगायतका प्रतियोगितामा भाग लिन पाउने छैनन् र रेफ्री तथा प्रशिक्षक अधिकारहरू पनि निलम्बन हुन सक्ने बताइएको छ। निलम्बनले फिफाबाट प्राप्त हुने आर्थिक सहयोग पनि रोकिने बताइएको छ।

