Skip to main content

रौतहटका मौलापुर नगरपालिकाले नगरबासीलाई निशुल्क विद्युत् र पानी उपलब्ध गराउने, छोरीको विवाहमा ३० हजार सहयोग दिने बजेट सार्वजनिक गर्यो

११ असार, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाले नगरबासीलाई निशुल्क विद्युत् र पानी उपलब्ध गराउने योजनासहित नयाँ बजेट प्रस्तुत गरेको छ। दसौं बजेट अधिवेशन अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रममा महत्त्वपूर्ण योजनाहरूलाई निरन्तरता दिइएको छ। जम्मा झण्डै ४२ करोड ३० लाख रुपैयाँको बजेट वक्तव्यमा मौलापुर नगरपालिका मेयर रिनाकुमारी साहले विगतबाट जारी राखिएका योजनाहरूलाई यस बजेटमा पनि निरन्तरता दिएकी छन्। यस बजेटमा नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ।

नगरबासीलाई ‘निशुल्क विद्युत्’, ‘निशुल्क पानी’ तथा ‘छोरीसँग मेयर’ कार्यक्रमलाई निरन्तरता दिइएको छ। दलित समुदायका लागि नमुना एकीकृत दलित बस्ती निर्माण र ‘कच्ची सडक मुक्त नगर’ बनाउन समेत योजना रहेको छ। चालु आवको विकास कार्यक्रमको समीक्षा गर्दा मौलापुर नगरपालिकाले अघि बढाएका नगर गौरवका आयोजना जस्तै गुणस्तरीय शिक्षा, एकीकृत दलित बस्ती, पिकनिक पार्क, मोडेल प्राविधिक शिक्षालय सफल भएका छन्। नगरपालिकाद्वारा संचालित कार्यक्रमहरूले धुवाँमुक्त अभियान, कच्ची सडकमुक्त नगर, निशुल्क विद्युत्, निशुल्क पानी, बेटीके साथ मेयर, साक्षरता अभियान, झोपडीमुक्त नगरजस्ता अभियानहरूले नगरको गौरव बढाएको छ।

शासक नभई सेवकको भावना आत्मसात गर्दै नगर प्रहरीको साटो नगर शिक्षक र नगर चिकित्सकको व्यवस्था गरी जनतालाई वास्तविक सेवाकार्य सम्पन्न गराइएको उनले बताइन्। ‘जनतामाथि बोझ होइन, जनताको सहारा बन्ने’ सुवक्ताका साथ कुनै प्रकारको शुल्क, महसुल, कर र राजस्व नगर्ने ‘शून्य कर’ नीति अपनाइएको मेयर साहले बताइन्। उनका अनुसार मौलापुर नगरपालिकाले प्रत्येक छोरीको विवाहमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ।