Skip to main content

गर्मी मौसममा कस्तो भित्री वस्त्र लगाउने हो आरामदायी?

गर्मी मौसम सुरु हुनु सँगै तापक्रम बढ्ने, पसिना बढी आउने र शरीरमा अस्थायीरूपमा असहज महसुस हुन सक्छ। यस्तो अवस्थामा धेरैले बाहिरी कपडा छान्नमा ध्यान दिन्छन्, तर सामान्यतया भित्री वस्त्रको महत्त्वलाई नजरअन्दाज गरिन्छ। शरीरसँग सिधा सम्पर्कमा आउने भित्री वस्त्रको सही छनोटले गर्मीको समयमा आराम दिनुका साथै छालासम्बन्धी समस्याहरू, दुर्गन्ध र संक्रमणबाट बचाउन मद्दत गर्छ। गर्मीमा शरीरको तापक्रम नियन्त्रण गर्न पसिना निस्कने प्राकृतिक प्रक्रिया हुन्छ। तर पसिनाले लामो समयसम्म छालामा जम्दा ब्याक्टेरिया र फङ्गसहरूको वृद्धि हुने वातावरण तयार हुन्छ। विशेष गरी काखी, स्तनमुनि, जाँघको भित्री भाग र गोप्य अंग वरिपरि क्षेत्र बढी प्रभावित हुने हुँदा गर्मी मौसममा लगाइने भित्री वस्त्र केवल फेसन वा डिजाइनमा मात्र होइन, कपडाको गुणस्तर, आकार, आराम र स्वास्थ्य पक्षलाई ध्यानमा राखी छनोट गर्नु अत्यावश्यक हुन्छ।

गर्मीमा भित्री वस्त्रको सही छनोट किन महत्वपूर्ण हुन्छ? मानव शरीरमा लाखौं पसिना निस्कने ग्रन्थिहरू हुन्छन्। तातो मौसममा शरीरलाई चिसो राख्न यी ग्रन्थिबाट पसिना निस्कन्छ। यदि लगाएको भित्री वस्त्रले पसिना सोस्न सक्दैन भने छाला लामो समयसम्म भिजिरहन्छ जसले र्याश, चिलाउने समस्या, दुर्गन्ध, फङ्गल संक्रमण र छालामा जलनको समस्या निम्त्याउन सक्छ। गर्मीमा भित्री वस्त्र छान्दा मुख्यतया तीन कुरामा ध्यान दिनुपर्छ – कपडाको सामग्री, हावा आवतजावत हुने क्षमता र आरामदायी फिटिङ।

सन् २०१८ मा हार्भर्ड टी.एच. चान जनस्वास्थ्य विद्यालयका लिडिया मिङ्गुएज अलार्कोनको नेतृत्वमा गरिएको अनुसन्धान प्रतिष्ठित ‘ह्युमन रिप्रोडक्सन’ वैज्ञानिक जर्नलमा प्रकाशित भयो। उक्त अध्ययनमा ६५६ पुरुष सहभागी थिए। अनुसन्धानले खुला (खुकुलो) भित्री वस्त्र लगाउने पुरुषहरूको शुक्रकीट चाल र कुल शुक्रकीट संख्या बढी रहेको देखायो, जसको सम्भावित कारण अण्डकोष वरिपरि कम तापक्रम रहेको ठहरिएको छ। अमेरिकी कलेज अफ अब्स्टेट्रिसियन एन्ड गायनोकोलोजिस्ट्सले महिलालाई धेरै कस्सिने कपडा नलगाउन र कम्तीमा कपासको तह भएको भित्री वस्त्र प्रयोग गर्न सल्लाह दिएको छ। यसले संवेदनशील अंग वरिपरि हावा आवतजावत सजिलो बनाउने र अनावश्यक चिसोपन र जलन कम गर्न मद्दत पुर्‍याउन सक्छ।