Skip to main content

नेदरल्यान्ड्स र जापान लक्ष्य समूह विजेता बन्नु, स्वीडेनको नजर नकआउट चरणमा

यस समूहबाट हालसम्म कुनै टोलीले नकआउट चरणमा स्थान बनाइसकेको छैन भने ट्युनिसिया समूह चरणबाट बाहिरिसकेको छ। काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान समूह एफका दुई खेल हुनेछ। जहाँ नेदरल्यान्ड्सले ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ भने एसियाली शक्तिशाली टोली जापानले स्वीडेनसँग खेल्नेछ। यस समूहबाट अहिलेसम्म कुनै टोलीले नकआउट चरणमा पुग्न सकेको छैन भने ट्युनिसिया समूह चरणबाट बाहिरिसकेको छ। यसैले बाँकी तीनै टोलीको लक्ष्य आफू अनुकूल नतिजा निकाल्दै नकआउट चरणमा प्रवेश गर्नु रहेको छ।

नेदरल्यान्ड्स र जापान यस समूहमा अपराजित छन् र समूह विजेता बन्ने लक्ष्य राखेका छन्। दुबैले समान ४ अंक जोडेका छन्। तर गोल अन्तरमा उन्नत नेदरल्यान्ड्स शीर्ष स्थानमा छ। यसपटक उत्कृष्ट तेस्रो टोली पनि नकआउट चरणमा पुग्ने भएकाले दुवै टोलीका लागि नकआउट चरण पुग्ने सम्भावना लगभग पक्का छ। अन्तिम खेलको नतिजाले टोलीको स्थान टुंगो लगाउनेछ। यस्तै स्वीडेन एक जित र एक हारबाट ३ अंकसहित तेस्रो स्थानमा छ। स्वीडेनको पनि नकआउट चरणमा पुग्ने लक्ष्य छ। साथै स्वीडेनको समूह विजेता बन्ने सम्भावना समेत बाँकी छ। तर त्यसका लागि जापानलाई हराउनु पर्नेछ भने अर्को खेलमा नेदरल्यान्ड्सले पनि ट्युनिसियालाई पराजित गर्नुपर्नेछ।

जापान समूह विजेता बन्ने प्रतिस्पर्धामा छ भने स्वीडेन नकआउट चरणमा पुग्ने लक्ष्यका साथ जापानसँग खेल्नेछ। जापान र स्वीडेनबीचको खेल अमेरिकाको डालास स्टेडियममा बिहान पौने ५ बजे सुरु हुनेछ। जापानले समूहको पहिलो खेलमा युरोपेली टोली नेदरल्यान्ड्ससँग २-२ को बराबरी खेलेर उत्कृष्ट सुरुवात गरेको थियो। दुई पटक पछि परेको जापानले कमब्याक गर्दै स्कोर बराबरीमा ल्याएको थियो। त्यस्तै फिफा विश्वकपकै ऐतिहासिक १०००औं खेलमा ट्युनिसियामाथि ४-० को फराकिलो जितपछि जापानको गोल अन्तर पनि राम्रो छ। उक्त लय कायम राख्दै जापान लगातार जित निकाल्ने लक्ष्यले अग्रसर छ।

अर्कोतिर स्वीडेनको कथा भने फरक छ। पहिलो खेलमै ट्युनिसियालाई ५-१ ले हराउँदै शानदार सुरुवात गरेको स्वीडेन दोस्रो खेलमा त्यही स्कोरलाइनमा नेदरल्यान्ड्ससँग पराजित भयो। जसले स्वीडेनलाई केही दबाबमा पारिरहेको छ। लयमा रहेक जापान र स्वीडेनबीचको खेल नकआउट चरण प्रवेशका लागि महत्वपूर्ण र निर्णायक हुन आउनेछ। यस खेलमा जित हात पारे जापान समूह विजेता बन्ने संभावना बढ्नेछ। यदि नेदरल्यान्ड्स ट्युनिसियासँग बराबरी खेले या पराजित भएमा यस खेलकै विजेता समूह विजेता हुनेछ।

नेदरल्यान्ड्स र जापान दुवै विजयी भएमा समान ७ अंक हुनेछ र गोल अन्तरले समूह विजेताको निर्णय हुनेछ। यदि नेदरल्यान्ड्स र स्वीडेन विजय भएमा नेदरल्यान्ड्स समूह विजेता र स्वीडेन समूह उपविजेता हुनेछ। यदि दुवै खेल बराबरीमा सकिएमा नेदरल्यान्ड्स समूह विजेता र जापान समूह उपविजेता बन्नेछ। जापान र स्वीडेन विश्वकपमा पहिलो पटक आमने सामना गरिरहेका हुन् भने समग्रमा यो पाँचौं भेट हुनेछ। यसअघि चार खेलमा जापानले एकमा विजयी भइ सकेको छ भने तीन खेल बराबरीमा सकिएका छन्। फिफा वरियतामा जापान १८औं र स्वीडेन ३८औं स्थानमा छन्।

समूह विजेता बन्ने डच टोलीको दाउ ट्युनिसिया र नेदरल्यान्ड्सबीच हुने खेल अमेरिकाको कान्सास सिटी स्टेडियममा बिहान पौने ५ बजे हुनेछ। यस समूहमा दुई फरक स्थितिमा रहेका टोलीहरू नेदरल्यान्ड्स र ट्युनिसिया हुन्। नेदरल्यान्ड्स दुई खेलमा अपराजित रहँदै ४ अंकसहित शीर्ष स्थानमा छ। ट्युनिसिया भने दुवै खेलमा पराजित हुँदा अंकविहीन छ र समूह चरणबाट बाहिरिसकेको छ। नेदरल्यान्ड्सले पहिलो खेलमा जापानसँग २-२ को बराबरी खेलेको थियो, जहाँ दुईपटक अग्रता लिएको भए पनि टोलीले सुरक्षित गराउन सकेन। दोस्रो खेलमा नेदरल्यान्ड्सले युरोपेली प्रतिद्वन्द्वी स्वीडेनलाई ५-१ ले हराएर पहिलो जित हात पारेको थियो। नेदरल्यान्ड्सले यस खेल पनि जित्दै समूह विजेता भएर नकआउट चरणमा पुग्ने लक्ष्य राखेको छ। ट्युनिसिया भने अन्तिम खेलमा सकारात्मक नतिजा निकालेर विश्वकपबाट घर फर्किन चाहन्छ। नेदरल्यान्ड्स र ट्युनिसिया विश्वकपमा पहिलो पटक आमने सामना गर्दैछन्। कुल रुपमा यी दुई टोलीबीच यो चौथो भेट हुनेछ। यसअघि नेदरल्यान्ड्सले दुई खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ। फिफा वरियतामा नेदरल्यान्ड्स आठौं र ट्युनिसिया ४५औं स्थानमा छन्।