११ असार, काठमाडौं । निरन्तर वर्षापछि भारतको अरुणाचल प्रदेशको केयी पन्योर जिल्लामा आएको आकस्मिक बाढीले ठूलो विनाश पुर्याएको छ। बाढीका कारण घर, सडक तथा पुल बगाएका छन्। टाइम्स अफ इण्डिया अनुसार बाढीमा परी हालसम्म कम्तीमा एक व्यक्तिको मृत्यु भएको र चार जना बेपत्ता भएको पुष्टि गरिएको छ। पूसा क्षेत्र बाढीमा डुबेपछि अरुणाचल प्रदेश सरकारले भारतीय वायु सेनासँग समन्वय गरी उद्धार तथा राहत कार्य सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रमा राज्य विपद् प्रतिकार बल (एसडीआरएफ) को जनशक्ति र आवश्यक सामग्री छिटो पुर्याउन हवाई सहयोग लिएर उद्धार प्रयास भइरहेको छ।
केयी पन्योरका प्रमुख जिल्ला अधिकारीको अनुरोधवमोजिम नागरिक उड्डयन विभागले शिलङस्थित पूर्वी वायु कमाण्डसँग समपर्क गरी उद्धारकर्मी, राहत सामग्री र प्रभावितको उद्धारका लागि हवाई सहयोग मागेको थियो। अधिकारीहरूका अनुसार सो क्षेत्रमा लगभग ४८ घण्टासम्म निरन्तर वर्षा भइरहेको थियो। गुवाहाटीस्थित क्षेत्रीय मौसम विज्ञान केन्द्र (आरएमसी) र इटानगार मौसम केन्द्रका अनुसार याजाली क्षेत्रमा पछिल्लो २४ घण्टामा ७२.८ मिलिमिटर वर्षा मापन गरिएको थियो, जसको ठूलो हिस्सा जुन २४ बिहान ६ बजेदेखि ९ बजेसम्म परेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोलाई हेर्दा बाढीले घर, रुख, सवारी साधन र पुलहरू बगाएको र विभिन्न सडकमा क्षति पुर्याएको स्पष्ट देखिन्छ।
बाढीले लगभग २० वटा घर र आवासीय संरचनामा क्षति पुर्याएको र तल्लो भुभाग डुबानमा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। भारी वर्षाको कारण राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा सवारी आवागमनमा अवरोध उत्पन्न भएको छ र धेरै यात्रुहरू बाटोमै फसेका छन्। सरकारी स्वामित्वको NEEPCO ले सावधानीका लागि रंगनदी बाँधबाट पानी छोड्न सुरु गरेको छ भने जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। अरुणाचल प्रदेशका सांसद तथा केन्द्रीय मन्त्री किरण रिज्जुले सामाजिक सञ्जालमार्फत क्षतिको भिडियो सार्वजनिक गर्दै बाढी र पहिरोबाट भएको जनधनको क्षतिको सम्पूर्ण दुःख व्यक्त गरेका छन्। उनले मृतक परिवारप्रति समवेदना बताए र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

