Skip to main content

सात दशकको उत्खनन् पछि ‘सार्डिस’ युनेस्को विश्व सम्पदा सूचिमा समावेश

११ असार, वासिङ्टन। करिब सात दशक लामो निरन्तर उत्खनन र अन्वेषणपछि टर्कीको पश्चिमी भागमा रहेको प्राचीन ऐतिहासिक सहर ‘सार्डिस’ युनेस्कोको विश्व सम्पदा सूचिमा समावेश गरिएको छ। सन् १९५८ देखि हार्वर्ड र कर्नेल विश्वविद्यालयको संयुक्त नेतृत्वमा सुरु भएको ‘हार्वर्ड कर्नेल एक्सप्लोरेसन अफ एन्सियन्ट सार्डिस’ विश्वकै सबैभन्दा लामो समयदेखि निरन्तर सञ्चालनमा रहेको पुरातात्विक परियोजनाहरू मध्येको एक हो। यस ऐतिहासिक उपलब्धिले इतिहास लेखनमा नयाँ अध्याय थप्ने दशकौँ लामो खोज र निरन्तर पुरातात्विक प्रयासहरूको महत्व पुनः पुष्टि गरेको छ।

साढे हजार वर्ष पुरानो सार्डिस सहरले ग्रीक, रोमन, बाइजान्टिन र ओटोमन साम्राज्यहरूको उदय र पतनको साक्ष्य प्रदान गरेको छ। विभिन्न ऐतिहासिक कालखण्डमा शासकहरू परिवर्तन भए तापनि यहाँको उत्खनन कार्य दशकोंसम्म निरन्तर चलिरहेको छ। कर्नेल विश्वविद्यालयका कला इतिहास र भिजुअल स्टडिजका सह–प्राध्यापक बेन्जामिन एन्डरसनका अनुसार यो दीर्घकालीन परियोजनाले इतिहास बुझ्नका लागि एउटा ठोस र महत्वपूर्ण डेटाबेस तयार गरेको छ।

प्राचीन स्रोतहरूमा सार्डिसको व्यापक चर्चा भए तापनि पछिल्लो ७५ वर्षको पुरातात्विक खोजले मात्र यस इतिहासलाई भौतिक प्रमाणसहित जीवन्त बनाउन सकिएको छ। फलाम युगको लिडिया अधिराज्यको राजधानी भएको सार्डिस भूमध्यसागर र एनाटोलियन पठारको बीचमा रणनीतिक अवस्थित थियो, जसले पूर्व र पश्चिमका संस्कृतिलाई जोड्ने पुलको रूपमा काम गरेको थियो। लिडियालीहरूलाई विश्वमा पहिलो पटक सिक्का आविष्कार गर्ने श्रेय दिइन्छ, र त्यहाँका राजा क्रोसस आफ्ना अथाह सम्पत्तिका कारण इतिहासमा प्रसिद्ध थिए।

यो पुरातात्विक स्थलले अमेरिकी पुरातत्व इतिहासमा पनि एक महत्वपूर्ण मोडको प्रतिनिधित्व गर्दछ। २०औँ शताब्दीको सुरूवातमा भएका प्रारम्भिक उत्खननहरूमा ऐतिहासिक ‘आर्टेमिस मन्दिर’ र दफन स्थलहरू पत्ता लागे पनि धेरै कलाकृतिहरू क्षतिग्रस्त भए वा अवैध रूपमा अमेरिका पुर्‍याइएका थिए। तीमध्ये एक विशाल स्तम्भ अझै पनि न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीमा राखिएको छ।

हाल प्राकृतिक क्षय, आधुनिक कृषि, विस्फोटक पदार्थ र डोजर प्रयोग गर्ने औद्योगिक खजाना चोरहरूको कारण सार्डिसका प्राचीन दफन स्थल र खजानाहरूको संरक्षण ठूलो चुनौती बनेको छ। यसमा युनेस्कोको संरक्षण नीतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।